बैंकमा होइन घरमा थुप्रियो पैसा,बजार चलायमान बनाउन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने कि सरकार ?

फाइल तस्वीर

बजारमा आम सर्वसाधारण र व्यापारी भन्छन्, ‘सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाइदिए मन्दी कम हुन्थ्यो। र, बजार पनि चलायमान हुन्थ्यो।

व्यापारीहरु पाँच सय र हजारको नोट देखिन छोडेको वा पहिलाभन्दा निकै कम मात्र देखिने बताउँछन्। अहिले बैंक तथा वित्तिय संस्थाबाट भने सर्वसाधारणले आफुले बचत गरेके रकम वा पाँच सय र हजारको नोट निकालिरहेका छन्।

अनि त्यो पैसा कता गयो ? किन त्यो पैसा बजारमा गएन ? मानिसहरुले बैंक,वित्तिय संस्थाबाट आफ्नो निक्षेप निकालेर घरमै राखेका छन्।

बैंकबाट कर्जा लिएका ऋणीहरुले आम्दानीको स्रोत नभएपछि वा बजारमा मन्दी हुँदा सो ऋण तिर्न सकेका छैनन्। यता, बचतकर्ताहरु बैंक डुब्छ र आफ्नो पैसा पनि डुब्छ भनेर निक्षेप निकाल्न बैंक, वित्तिय संस्थामा लाइन लागेका छन्।

सहकारीबाट निकालेको रकम पनि बचतकर्ताहरुले घरमै लुकाए। उता, भागेका सहकारीका सञ्चालकहरुले पनि संस्थाको रकम बैंकमा नराखी घरमै लुकाएका छन्।

अहिले व्यापारीहरुले पनि दिनभर आम्दानी गरेको रकम घरमै राख्छन्। उनीहरु घरमै पैसा सुरक्षित हुने बताउँछन्। त्यसैले, अब सरकारले कि त बजारमा कति पाँच सय र हजारको नोट चलायमान छ ? भनेर अध्ययन गर्नुपर्छ।

नभए तीन महिनाको समय दिएर पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ। यस्तो गरेमा अहिले घरमा लुकाइएको पैसा सबै बैंकका आउँछ।

बैंकमा पैसा आउनासाथ बजार पनि चलायमान हुन्छ। मन्दी कम हुन्छ। तर, सरकारले यस्तो कार्य नगर्दा बजारमा मन्दी बढ्दै गएको छ भने पैसा लुकाउने पनि बढिरहेका छन्।

सरकार तत्काल एक्सनमा नगए वा यो निर्णय नगरेसम्म अर्थतन्त्रमा सुधार आउने छैन। पैसा हुनेले त बैंक, वित्तिय संस्थाबाट निकालेर घरमा लुकाए। तर, हिजो पैसा नहुनेसँग आज पनि छैन।

ठुल्ठुल्लो व्यापार व्यवसाय गर्नेहरुसँग पैसा हुने हो । मासिक दश÷बीस हजार कमाउनसँग के को पैसा हुन्छ। किनकि त्यो रकमले उसले पूरा घर धान्नुपर्छ।

यसरी ठुला व्यापारी वा पैसा हुनेहरुले नै पैसा लुकाउँदा बजार मन्दीमा गएको हो। उनीहरुले बैंक, वित्तिय संस्थाबाट निक्षेप निकालेपछि कुनै पनि क्षेत्रमा लगानी गरेनन्। घरमै पैसा लुकाए। अनि आरामले बसेका छन्।

उनीहरु बजार अध्ययन गरेर बसिरहेका छन्। घरजग्गा, गाडी र सेयरको मूल्य अझै घट्छ र बजार झन् मन्दीमा जान्छ कि जाँदैन ? भनेर उनीहरु हेरिरहेका छन्। उनीहरु पर्ख र हेरको अवस्थामा छन्।

अहिले व्यापारीहरु भन्छन्,पसल खुल्यो, बहनी हुँदैन। घरजग्गा, गाडी र सेरयको किनबेच ठप्प छ। किनेको मूल्यभन्दा आधामा दिन्छुभन्दा समेत बिक्री नभएको अवस्था छ। यो हुनुको कारण पैसा लुकाउनु हो। अहिले लगानी गर्छु भन्नेसँग पैसा छैन त लगानी गर्न सक्ने क्षमता भएकाहरुले पैसा घरमै लुकाएका छन्।

राष्ट्र बैंक वाणिज्य बैंकहरुमा पैसा थुप्रियो भन्छ। तर, राष्ट्र बैंक कति पैसा बजारमा पठाइएको थियो ? त्योमध्ये कति रकम बैंकमा थुप्रियो ? वा कति रकम बजारमा चलायमान छ ? भनेर भन्दैन। यसबारे राष्ट्र बैंक अध्ययन गर्दैन। अनि बैंकमा पैसा थुप्रियो मात्र भन्छ। बैंकमा थुप्रिएको पैसा पाँच सय र हजारको हो कि सय,पचासको ? यसबोर राष्ट्र बैंक अध्ययन गर्दैन।

अर्थमन्त्री भएर आउनासाथ वर्षमान पुनले आफुसँग मात्र अर्थतन्त्र सुधार गर्ने योजना रहेको दाबी गरेका थिए । उनी अर्थमन्त्री भएको पनि एक महिना हुन लागिसक्यो।

यसबीचमा अर्थतन्त्रमा सुधार आउनुको साटो झन्झन् नाजुक अवस्थामा पुगेको देखिन्छ । किनकि घरजग्गा, गाडी र सेयरको कारोबार अझै घट्दो छ। बजार पूरै मन्दीमा गइसक्यो।

सर्वसाधारणले आफुसँग भएको रकम सुरक्षित हुन्छ भनेर बैंक,वित्तिय संस्थामा राख्दै आएका थिए । तर, सहकारी भागेपछि वा बैंक पनि टाट पल्टिने थाहा पाएपछि उनीहरुले घरमै पैसा राखे।

बजार तब चलायमान हुन्छ भनेर सर्वसाधारण, व्यापारीहरुले लुकाएको पैसा बाहिर आउँछ । त्यो पैसा कुनै क्षेत्रमा लगानी हुन्छ। यद्यपि, यहाँ त सबै पैसा लुकाइसकिएको छ।

अर्कोतर्फ, अहिले बैंक, वित्तिय संस्थाबाट ऋण लिने पनि कोही छैन। लिएको ऋण समेत तिर्न सकिरहेका छैनन्, अधिंकाशले । आम सर्वसाधारणको बैंक तथा वित्तियबाट विश्वास उठिसकेको छ।

घुस अनि छिट्टै र बढी नाफा कमाउने दाउमा बैंक, वित्तिय संस्थाहरुले सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा प्रवाह गरे । कृषि, औद्योगिकरणका लागि कर्जा दिएनन्।

सरकारले गत साउन ३० गते जग्गाको कित्ताकाटफुकुवा गप्यो। तैपनि, जग्गाको कारोबार बढेको छ। अहिले पनि घरजग्गा किनबेच ठप्पै छ। यता, सेयरमा १२ करोडको सीमा हटाइयो। त्यो गर्दा पनि सेयरमा लगानी गर्ने बढेनन्। यसअघि गाडीको भ्यासिनको आधारमा ५० प्रतिशत कर्जा उपलब्ध हुनेमा ८० प्रतिशत पुप्याइयो।

तरपनि गाडी किन्ने कोही भएनन्। गाडीको किनबेच बढेन। बैंक,वित्तिय संस्थाको सम्पूर्ण कर्जा यही तीन क्षेत्रमा लगानी भएको छ। अनि अहिले बजारमा यी क्षेत्रमा मन्दी आएको पनि जनताले थाहा पाइसके। यसैले बैंक टाट पल्टिछ र आफ्नो रकम डुब्छ भनेर थाहा पाएर बचतकर्ताहरुले धमाधम निक्षेप निकालेका हुन्। नाकि पैसाको खाँचो परेर।

बजारमा प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन्। यसबारे सरकारभन्दा बढी सर्वसाधारण जानकार छन्। बचतकर्ताहरुले पनि बजारबारे अध्ययन गरिसकेका छन्।

सो क्रममा पूरै मन्दी पाइएपछि बचतकर्ताहरुले निक्षेप निकालेका छन्। अहिले सरकार जनतालाई अलमल्याउन खोजिरहेको छ। अर्थतन्त्र सुधारतर्फ गइरहेको छ भनेर सरकार ढाँटिरहेको छ।

मालपोत र यातायात कार्यालयमा लेखनदास गर्ने तथा व्यापार गर्नेहरु सेवाग्राही नै नआउने बताउँछन्। महिनौं दिनसम्म एउटै काम पनि नपाएको लेखनदासहरु बताउँछन्। व्यापारीहरु पनि सेवाग्राही नआएको व्यापार ठप्पै रहेको सुनाउँछन्। अहिले सरकारले तंथ्याकले घरजग्गाको किनबेचमा गिरावट आइरहेको देखाउँछ।

बजारमा पछिल्लो समय घरजग्गा बेच्न चाहने यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैन। डा.प्रकाशशरण महत अर्थमन्त्रीबाट हट्नेबित्तिकै सेयर लगानीकर्ताहरुले अब सेयरको मूल्य बढ्छ भन्दै केक नै काटेर खाए। अहिले वर्षमान पुन अर्थमन्त्री भएर आएपछि सेयरको मूल्य झनै घटिरहेको छ। दिनहुँ सेयरको मूल्य घट्छ।

दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए। त्यसैले, यसकोमूल्य घटेको भन्न नमिल्ने पनि कतिपयको ठम्याई छ। उनीहरु भन्छन्,हिजो मूल्य बढाएर नहुने काम गरेका थिए।

अब फेरि चार दशकअघिकै मूल्यमा फर्किने छ।मुलुकमा पहिलो पटक नेपाल बैंक लिमिटेडको स्थापना भयो। त्योभन्दा अगाडि मानिसहरुले आफुसँग भएको पैसा घरमै राख्थे।

त्यसको केही दशकपछि सहकारी तथा प्राइभेट बैंकहरु च्याउ उम्रिएझै स्थापना भए। र, बढी ब्याजको प्रलोभनमा वा सुरक्षित हुन्छ भनेर सर्वसाधारणले आफुसँग भएको रकम सहकारी,लघुवित्त तथा प्राइभेट बैंकमा राखे। अहिले सरकारी बैंक तीन वटा छ। ती हुन् राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड । सरकारी बैंकमा पैसा राख्नेहरु ब्याज नआएपनि ढुक्क छन्। आफ्नो पैसा सुरक्षित रहेकोमा उनीहरु विश्वस्त छन्।

तर, प्राइभेट बैंकमा पैसा राखेहरुको निद्रा र भोक नै हराएको छ। अहिले ‘क’ वर्गकै कतिपय बैंकहरु डुबिसकेको सर्वसाधारणले थाहा पाइसकेका छन्। किनकि आफुले नै राखेको पैसा निकाल्न जाँदा पनि बैंकहरु दिन आलटाल गरिरहेका छन्।

अहिले सहकारी किन डुब्यो ? भनेर प्रष्ट भइसकेको छ। र, प्राइभेट बैंकहरुको पनि सहकारीले नै लगानी गरेको क्षेत्रमा कर्जा भएकोले यीनीहरु भाग्ने पक्कै भइसकेको छ। त्यसैले, अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाएर पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउने निर्णय गरी दुई हजारको नयाँ नोट निकाल्नुपर्छ।