रोगी मृत्यु कुरेर बस्ने,सध्ये खाडी जाने, नेताहरु अझैपनि ‘समृद्ध नेपाल,सुःखी नेपाली’ को नारा लगाउने ?

पछिल्लो समय धेरै सर्वसाधारण गम्भीर प्रकृतिको रोगबाट ग्रसित छन्। मृगौला, कलेजो, मुट, क्यान्सर, मेरुदण्ड, ब्रेन ह्याम्रेजलगायतका दीर्घकालीन रोगले धेरैले सताएको छ । यी रोगको उपचार धेरै नै मँहगो छ। उपचार गर्ने क्रममा आफ्नो घरखेत नै सकाएको धेरै उदाहरण छन्। सम्पत्ति हुनेले त उपचार गर्लान्, गरिबको त मर्नुबाहेकको विकल्प नै छैन्।

सरकारले यी रोग लागेकालाई निःशुल्क उपचार गरिदिने व्यवस्था मिलाउनुपर्ने हो। विडम्बना, सरकार आँखा चिम्लेर बसेको छ। अमेरिकामा मान्छेमा सुंगुरको मृगौलासम्म हालिएको खबरहरु बाहिर आइरहेका छन्। त्यसले काम गरेको पनि भनिएको छ। अन्य मुलुकले नागरिकको ज्यान जोगाउन हरसम्भव गरिरहँदा हाम्रो सरकार हात बाँधेर बसेको छ।

जनतालाई कसरी बचाउने ? सरकारलाई मतलब नै छैन्। मृगौला पीडितहरु बाटोमा मागेर हिँडिरहेको देखिन्छ। अहिले त सडककै पिच्छे स्पिकर बजाएर मागिरहेका हुन्छन्। त्यसरी मागेर उपचार गराएर कतिञ्जेल साध्य लाग्छ ? उपचारको क्रममा सारा जायजेथो सकाउँछन्, तैपनि सफल उपचार हुँदैन्।

सरकारले जनतामाथि व्यापार मात्र गरिरहेको छ। उपचार गर्ने नाममा पनि पैसा,शिक्षाको नाममा पनि पैसा। सरकारी विद्यालय भनिएको छ, भर्ना नगरिकन हुँदैन्। परीक्षालगायत विभिन्न शीर्षकमा शुल्क असुलिन्छ। सरकारी अस्पतालकै कुरा गरौं,पहिले पैसा नबुझाइकन भर्ना नै लिँदैन्।

बिरामी मर्न लागेको हुन्छ, सरकारी अस्पतालका कर्मचारी पैसा मागेर बस्छन्। शुल्क लिएर उपचार गर्ने हो भने के को सरकारी ? निजीमा गए भइहाल्यो नि । पैसा तिर्न नसक्ने भएर सरकारीमा गयो,त्यहाँको कर्मचारी र डाक्टरको व्यवहार उही हो । टोकनदेखि लिएर अस्पताल भर्ना, उपचार, औषधी सबै खर्च बिरामीले व्यहोर्नुपरेको छ।

सरकारी अस्पतालमा यतिसम्म बेतिथि छ कि बयान गरिसाध्य छैन् । निःशुल्क दिन भनेर उपलब्ध गराइएको औषधीसमेत डाक्टरहरुले मेडिकलवालालाई बेच्छन् । बिरामी मेडिकल गएर त्यही औषधी किन्न बाध्य छन् । जनता देश विकासको एउटा हतियार हो । राज्यले सबै कुरा बनाउन सक्छ, तर जनता बनाउन सक्दैन् ।

एउटा नागरिकताको आडमा राज्यले जनताबाट कर र भोट लिइरहेको छ । जनताले के पाएका छन् ? एउटा नागरिकता होइन् ? पाइला–पाइलामा कर तिरेका छौं, राजनीतिक दललाई भोट हालेका छौं । तर, उपचारसमेत पाउँदैनौं । जनताप्रति राज्य जहिलेपनि जिम्मेवार हुनुपर्छ ।

तर, हाम्रा राज्य सञ्चालकहरुलाई जनताको मतलबै छैन्, बस् कर र भोट आए पुग्यो । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकको मौलिक हक हुन्। संविधानले नै यो कुरालाई समेटेको छ । खोइ त कार्यान्वयन ? उपचार नपाएर अहिलेपनि सर्वसाधारणले ज्यान गुमाइरहेका छन्।

कतिपय रोग पालेरै बसेका छन् । यहाँ जनतासँग बिहान–बेलुका खानलाई पैसा छैन्,उपचार गरुन कसरी ? उपचार व्यापार बन्दा आम जनता मर्कामा परेका छन्। एउटा नागरिक गुमाउनु भनेको सरकारलाई क्षति हुनु हो। किन कि उसले देश विकासमा योगदान पुर्याउँछ, सानोतिनो काम गरेर भएपनि सरकारलाई कर तिर्छ, राजनीतिक दललाई भोट दिन्छ।

तर, त्यही जनताको ज्यानमाथि खेलबाँड किन ? उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर आत्महत्या गरेको धेरै घटना छन् । उपचार नपाएर मर्नुसम्मको अवस्था बन्दा सरकारको चित्त दुख्दैन् ? केही वर्षअघिको घटना हो, मृगौलाको रोगबाट थलिएका एक किशोरले महाराजगञ्जस्थित शिक्षण अस्पतालको छतबाट हाम्फाले ।

सामाखुसीमा परिवारसँग डेरा गरि बस्दै आएका उनले उपचार गर्नलाई पैसा नभएपछि आत्महत्या गरे । यो त एउटा उदाहरण मात्र हो । यस्तो घटना कति छन् कति । उपचार शुल्क तिर्न नसकेर अस्पतालमै बन्धक बनाइएको लगायतका मानवताहीन कार्यहरु समेत अस्पतालले गरेका छन् ।

यो देश राजनीतिक दल र सरकारी कर्मचारीको मात्रै भयो। जनता जाऊन् ‘भाड’ मा। सरकारी कर्मचारीका निम्ति निजामती अस्पताल छ। प्रहरीको लागि प्रहरी अस्पताल र सैनिकको लागि आर्मी अस्पताल छ। जनताका लागि चाँहि कहाँ छ निःशुल्क अस्पताल ? सरकारी कर्मचारीहरु बहालरत हुँदासम्म तलबभत्ता खान्छन्।

घुस पनि लिन्छन्। अवकाश पाएपछि पेन्सन पनि पाउँछन्। तर, गरिब जनताको त केही पनि छैन् । काम पाए र गर्न सके खायो, नत्र भोकभोकै हिँड्यो। तिनले उपचार खर्च ‘अफोर्ड’ गर्न सक्छन् ? सरकारी अस्पतालमा दुई वर्षसम्म एउटा अपरेशनको पालो आउँदैन् । यो जनताको ज्यानमाथि हेलचेक्य्राइँ गरिएको होइन् ?

उपचार गर्ने पैसा नभएर मृत्यु कुरेर बसेका लाखौं बिरामी छन्। यद्यपि, सरकारले देखेर पनि अनदेखा गरिरहेको छ। उपचारको नाममा देशका राष्ट्रपतिदेखि मन्त्रीसम्मले करोडौं रुपैयाँ लिएका छन्। त्यो त जनताले तिरेको कर हो नि। जनताले खाइनखाई तिरेको करमा उनीहरुले मोजमस्ती गरिरहेका छन्।

पिसाब पहेँलो आयो भनेपनि उनीहरु विदेश दौडिहाल्छन्। अनि यस्ताले देश र जनताको लागि काम गर्छन् ? रामचन्द्र पौडेल राष्ट्रपति भएर आउनेबित्तिकै बिरामी भए। खासै त्यस्तो रोग लागेको त थिएन्, तर उपचार गराउन भारत पुगे । शुरुमा सस्तो लोकप्रियता कमाउन आफैं उपचार खर्च व्यहोर्नु भने तर राज्यको ढुकुटीबाट असुलेरै छाडे।

देशको राष्ट्रपति भनेको समग्र जनताको अभिभावक हो। अभिभावक आफू नखाएर सन्तानको पेट भर्छन्। आफू पीडा सहेर आफ्ना सन्तानको उपचार गराउँछन्। हाम्रो देशका नेताहरु उल्टो गति दौडिरहेका छन्। आफैं खाऊँ, आफैं लाऔं र आफ्नै धोक्रो भरौंको सिद्धान्तमा हिँडेका छन्, उनीहरु।

अन्य मुलुकमा एउटा सामान्य दुर्घटना भयो भने सम्बन्धित मन्त्रीले जिम्मेवारी लिन्छन्। पदबाटै राजीनामा दिएर कारबाहीको भागिदार बन्छन्। हामीकहाँ ठ्याक्कै उल्टो छ। जनता चुसेर नेताहरु मोटाएका छन्। नेताहरु सरकारी अस्पतालमा उपचार गराउन चाहदैनन्। किन कि तिनलाई त्यहाँ कार्यरत डाक्टरमाथि विश्वास छैन्।

फेरि राज्यको ढुकुटी पनि त सोत्तर बनाउनुपर्यो । नेताहरुलाई आफ्नो ज्यानको मायाचाँहि हुने, जनताको ज्यानको चाँहि नहुने । सरकारले सरकारी अस्पताल र विद्यालय खोलेको छ। साथै, निजीलाई पनि लाइसेन्स बाँडिरहेको छ । सरकारले कसरी जनतामा भ्रम छरिरहेको भन्ने यहाँबाट पुष्टि हुन्छ।

निजी विद्यालय र अस्पतालमा नेताहरुकै लगानी छ। एकातिर देश र जनताको आवाज उठाएझैं गर्ने, अर्कोतिर तिनलाई सोत्तर बनाउने । आफूले पढाउन नपरोस् र बसिबसि तलब खान पाइओस् भनि सरकारी स्कुलका शिक्षक नै पढाइ राम्रो हुँदैन् भनेर आम सर्वसाधारणमा भ्रम फैलाउँदै हिँडेका छन्।

तर, कसैलाई वास्ता नै छैन्। यता, सरकारी अस्पतालका डाक्टरहरुले साह्रै लापरवाही गर्छन्। बिरामीको मृगौला झिकिदिने, शल्यक्रिया गर्दा प्रयोग भएको सामान शरीरभित्रै राखेर सिलाइदिनेलगायतका घटनासमेत घटेको छ। विपन्नका लागि छुट्याइएको कोटामा नेताहरु आफ्ना आफन्तको उपचार गराउँछन्।

जनताको नाममा आएको औषधी मेडिकलमा बेचिन्छ। उपचारको उपकरण खरिदमा पनि अनियमितता। शिक्षादेखि स्वास्थ्यसम्म भ्रष्टाचार। यहाँ जम्मे भ्रष्टाचारी र दलाल भए। राज्य पनि लुटौं, जनता पनि भन्ने सिद्धान्तमा हिँडेका छन्। नेताहरु आफ्नो स्वार्थमा रमाएका छन्। देश र जनताको गीत गएर कसरी देश सकाइयो, जनताले बुझेका छैनन्।

अहिलेपनि जनता पार्टीको कार्यकर्ता भएर हिँडेका छन्। देशमा जनताभन्दा धेरै कार्यकर्ता हुँदा आज यो अवस्था बन्यो। जनता बाटोमा कचौरा लिएर मागेर हिँडेका छन्, नेताहरु ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को नारा लगाएर हिँडेका छन्। नेताहरुले कतिसम्म ढोंग रचेका छन् ? यसबाट पुष्टि हुन्छ। बिरामी मर्ने दिन कुरेर बस्छन्, सध्ये खाडी जान्छन्। योभन्दा कति विकास र समृद्धि चाहियो ?