मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

 काठमाडौं। ओपनर विरन्दीप सिंहको अर्धशतकप्रेरित मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रनको बनाएको हो।

मलेसियाका ओपनर विरन्दीपले ५५ बलमा तीन चौका र चार छक्कासहित ६८ रन बनाए। सर्विन मुनिउन्दीले ४१ रन बनाए। यी दुईले ३५–१ को अवस्थाबाट दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए। यसबाहेक, मुहम्मद अमिरले १६ रन थपे।

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १४ रनमात्र खर्चिए। यस्तै, अभिनाश बोहराले एक विकेट हात पारे।