गृहमन्त्री रवि लामिछानेमाथि जुनसुकै बेला अनुसन्धान हुनसक्छ

फाइल तस्वीरrabi

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले जुनसुकै बेला अनुसन्धान गर्नसकिने प्रावधान राखेर प्रतिवेदन बुझाएको छ।

सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि जिबी राईले गरेका बदमासीको जिम्मेवारी आफूले नलिने बताए पनि प्रहरीले भने उनीमाथि जुनसुकै बेला अनुसन्धान गर्न सकिने प्रावधान राखेर अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो।

जसमा पछि ‘कुनै तथ्य प्रमाण खुली आएमा कानुनबमोजिम गर्ने’ अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। बुटवलस्थित सुप्रिम सहकारी र पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोर्खा मिडिया प्रालिका नाममा लगानी गरी सर्वसाधारणको पैसा डुबाएको आरोप लामिछानेमाथि पनि लागेको छ।

प्रहरीले भने यस प्रकरणमा मुछिएका भनिएका ‘रवि लामिछाने’ को पहिचान नखुलेको भन्दै उनलाई उन्मुक्ति दिँदै मुद्दामा प्रतिवादी बनाएको छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका रवि लामिछाने रास्वपा सभापति एवं गृहमन्त्री भए नभएको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेको छ।

सुप्रिम र सूर्यदर्शन सहकारीको रकम लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया प्रालिका नाममा गैरकानुनी तवरले लगानी भएको विषयमा लामिछानेले जिम्मेवारी नलिई त्यसलाई गितेन्द्रबहादुर (जिबी) राईको काँधमा थोपरिदिएका छन्।

कागजातअनुसार लामिछाने सुप्रिमका शेयर सदस्य र गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक राई दुवै संस्थाका सञ्चालक हुन् । दुवै संस्थामा लामिछाने जोडिएका छन् । यसरी हेर्दा दुवैजना मिलेर सहकारीको रकम हिनामिना गरेको देखिन्छ।