रुसी सेनामा कार्यरतका आफन्तद्वारा सिंहदरवार अगाडि प्रदर्शन, ११ जना पक्राउ

काठमाडौं। रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउन माग गर्दै पीडित परिवारले प्रदर्शन गरेका छन्। उनीहरूले बिहिबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन्।

युद्धमा घाइते नेपालीको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउन सरकारलाई कूटनीतिक पहल गर्न दबाब दिन पीडित परिवारले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।