१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले दियो शुभकामना

काठमाडाैं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ धुमधामका साथ मनाइँदै। अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिनु पर्ने बताएकाे छ। 

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नुपर्छ। 

आज २०२४ मे १ तारिख। आजको दिनलाई संसारभरका मजदुरहरुले १३५ औं मे दिवस धुमधामका साथ मनाउन गइरहेका छन्। यस ऐतिहासिक अवसरमा हाम्रो  विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र विश्व सर्वहारावर्गका असली र क्रान्तिकारी प्रतिनिधिहरुका रुपमा रहेका आधुनिक मजदुरहरुको १३५ औं मे दिवसप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छ र वैज्ञानिक साम्यवादमा पुगेपछि मात्र मजदुरहरुका मागहरू पुरा हुने भएकोले पुँजीवादको गर्भबाट जन्मिएका आधुनिक मजदुरहरुले  फेरि पनि भ्रमहरुलाई चिर्दै मे दिवसलाई क्रान्तिकारी रुपान्तरणका निम्ति अबको मजदुर आन्दोलनलाई वैचारिक रुपले नयाँ तवरबाट डोर्‍याउने उद्श्येका साथ अध्ययन अनुसन्धान र संश्लेषणको रुपमा आवश्यक छ।

त्यसैले आफ्नो र सम्पूर्ण मानव जातिको मुक्ति प्राप्त गर्नका लागि विश्वभरका सम्पूर्ण आधुनिक मजदुरहरुलाई  चालु  नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिमा लामबध्द हुन हार्दिक अनुरोध गर्दछौं।