देउवा र नेपालबीच वैकल्पिक गठबन्धन बनाउने सहमति

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेकपा एमालेका कारण अन्यौल भइरहेको बेला देउवा र नेपालबीच यस्तो सहमति भएको हो। बुधबार साँझ कांग्रेस नेता डा। नारायण खड्काको निवासमा देउवा र नेपालबीच भेटवार्ता भएको थियो। उनीहरुबीच करिब डेढ घण्टा सुदूरपश्चिम सरकारबारे छलफल भएको स्रोतको भनाइ छ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्नेगरी उनीहरुबीच कुरा छलफल भएको थियो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिनेबारे समेत देउवा र नेपालबीच छलफल भएको र वैकल्पिक गठबन्धन बनाउन प्रयास जारी राख्ने पनि उनीहरुबीच सहमति भएको बताइएको छ।

सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, सोडारीका पक्षमा एमाले देखिएको छैन ।

गठबन्धनमा असन्तुष्ट अध्यक्ष नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ। यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पनि विवाद छ । नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहेपनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन्।

देउवा र नेपालबीच वैकल्पिक गठबन्धन बनाउन जसपालाई फकाउँदै नाउपालाई सँगै लिएर बढ्नेबारे गृहकार्य सुरु भएको छ।
देउवाले माधव नेपाललाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्डसँग बदला लिनको लागि एमाले नेतृत्वको गठबन्धन भत्काउन चाहन्छन् । त्यसो त यसअघि नै देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको होइन।

देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । यो नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो।

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज ५ बजे सकिँदै छ। तर, एमालेको अडानबाट चुइँक्क भएको छैन।

यही मौका देउवा वैकल्पिक गठबन्धन निर्माण गर्ने हेतुले अध्यक्ष नेपालसँग छलफल थालेका हुन्।