वैदेशिक रोजगारीमा ठगी मौलाउँदै, ४२२ जनाबाट ३ करोड ठग्ने गिरोह पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोसिया समेतका देशहरूमा पठाउने भनी ४२२ जनालाई ठगी गर्ने गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भिसा प्लस प्रा।लि।का सञ्चालक धादिङ धनुबेशी ४ बस्ने जिवा गौतम भन्ने रमेश बयलकोटी र कालिकोट छाप्रे ६ का दर्शन नेपाली रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

विदेश जानेहरूबाट सुरुमा ५० हजार, अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क पर्मिट आएपछि २ लाख रकम लाग्छ भनी उनीहरूले ४२२ जनाबाट ३ करोड भन्दा बढी रकम उठाएको प्रहरीले जनाएको छ।

उनीहरूले अर्कै व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई कम्पनीको नामबाट सिम कार्ड समेत दुरुपयोग गरी ठग्ने गरेका थिए। फेसबुक,ह्वाटसएप,टिकटक लगायतका सामाजिक सञ्जालहरूमा विदेश जानलाई विज्ञापन गरी ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

बयलकोटीले काठमाडौँ कीर्तिपुर नगरपालिका ६ बस्ने ललित जंग बमलाई प्रलोभनमा पारी भिसा प्लस प्रा।लि। कन्सल्टेन्सी दर्ता गर्न लगाएका थिए । अवसर रहेको भनी विज्ञापन गरी उक्त कन्सल्टेन्सीमा नै बोलाइ करिब ४२२ जनालाई ठगेको प्रहरीले जनाएको छ । बमकै उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

ठगी कार्यमा संलग्न गिरोह भारतमा बसी काम गर्ने गरेको प्रहरीको अनुमान छ। प्रहरीले महाराजगन्ज स्थित कन्सल्टेन्सीबाट २० थान, दर्शन नेपालीको जडीबुटी स्थित कोठाबाट १ थान र जिवा गौतम भन्ने रमेश बयलकोटी बस्ने गरेको कोठा ललितपुर एकान्तकुनाबाट ६३ थान गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको प्रवक्ता रेग्मीले जानकारी दिए।

बमको नाममा खोलिएको बैंक खातामा पैसा आएपछि लक्षिन्द्र बहादुर शाहीको नाममा चेक काट्न लगाई रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनीहरूले विभिन्न देशका लागि रकम समेत निर्धारण गरेको प्रहरीले जनाएको छ। न्युजिल्याण्ड १६ लाख, सर्बिया ७ लाख, बुल्गेरीया ७ लाख, साउदी अरब २ लाख ५० हजार, रोमानिया ७ लाख, टर्की १२ लाख, क्रोएसिया १२ लाख, र मकाउ १२ लाख निर्धारण गरिएको थियो।

पक्राउ परेकाहरूलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए।