सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपा सांसद थापाको घोषणा

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको बताएकी छन्।

बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालय मन्त्रीको सपथ खान पुगेकी उनी मन्त्रालयको टुंगो नलागेको भन्दै शपथ कार्यक्रम नै बहिस्कार गरेर फर्केकी थिइन्। उनै सांसद थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको भन्दै पुनः बखेडा ल्याएकी हुन्।

मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि सांसद थापाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्।

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए।

मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए। तर, थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको थियो।

यस्तै,मुख्यमन्त्री सोडारीलाई समर्थन जनाएको नेकपा एमाले पनि तत्काल सरकारमा नजाने भएको छ। मुख्यमन्त्री सोडारीलाई समर्थन गरेपनि एमाले सन्तुष्ट छैन।

सुदूरपश्चिममा नाउपाका कारण सरकार गठनमा संकट आएको थियो। यसअघि नाउपाको आन्तरिक विवादकै कारण सरकार गठनमा विलम्ब भएको थियो।

केन्द्रीय गठबन्धनको सहमति अनुसार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएपनि सुदूरपश्चिमको संकट अझै टरेको छैन।