भीषण आगलागीबाट ४० घरगोठ जले,दुई जना घाइते

सांकेतिक तस्बिर

काठमाडौं। गुल्मीको इस्मा गाउँपालिकामा भीषण अगालागी भएको छ।

आगलागीमा करिब ४० वटा घरगोठ जलेका छन्। इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागी हुँदा करिब ४० घरगोठ जलेका हुन्।

प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीमा परेर २ जना घाइते भएका छन्।

आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक हिमाल राना र मुसिकोट नगरपालिका ७ बस्ने प्रेम राना घाइते भएका हुन्।

घाइते दुवै जनालाई उपचारका लागि पाल्पा रिफर गरिएको छ । अगालागीमा घर, गोठ, किराना पसल, मिल समेत जलेको उनले बताए।

डीएसपी पोखरेलका अनुसार इस्मा २ मा १५ वटा बाख्रा र ४ वटा भैसीसमेत जलेका छन् भने लु ४ प ६५३५ नम्बरको ट्रयाक्टर जलेर क्षतिग्रस्त भएको छ।

जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको समेत उनले जानकारी दिए। जंगलमा लागेको डढेलो वस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको टोली आगलागी नियन्त्रणका लागि खटिइरहेको छ।