किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु?

काठमाडौं। नेपालका कम्युनिष्ट नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका छन्। केही दिनअघि मात्रै सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहेकै बेला माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली चीन पुगेको छ।

चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ नेतृत्वको टोलीसँग चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले नेपालमा वामपन्थी एकीकरणमा गर्न जोड दिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपाली नेताहरूलाई पालैपालो चीन भ्रमणको निम्तो दिइरहेको छ। गत वर्षको सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपालो दुई पूर्व प्रधानमन्त्रीको चीनमा स्वागत गरेको थियो। त्यसपछि लगातार रूपमै नेपाल कम्युनिष्ट नेताहरूको भ्रमण हुन थालेको छ।

गत अक्टोवर १८ मा राजधानी बेइजिङ्मा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन पुगेका थिए।

सोही पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल त्यतिबेला चीन पुगेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा नेपालसँग १४ जनाको टोली रहेको थियो।

त्यतिबेला पनि चीनले नेपालमा वामपन्थीहरूबीचको एकतामा जोड दिएको थियो । अहिले पनि माओवादी महासचिव गुरुङसँगको भेटमा चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुशी भएको धारणा राखेका छन् ।

केही समयअघि माओवादीकै दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमण गरेका थिए। उनले पनि त्यहाँ कम्युनिष्ट पार्टीका नेताहरू भेटघाट गर्नेबाहेक कुनै काम गरेका थिएनन् । परराष्ट्र मन्त्रीको हैसियतमा गएका उनको खर्च सरकारी भए पनि काम भने पार्टीको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण गएका थिए। उनले आठ दिनसम्म बसेर बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका कम्युनिष्ट नेताहरूसँग भेटघाट गरेर फर्केका थिए ।

किन गइरहन्छन् कम्युनिष्ट नेताहरू चीन ?
नेपाल र भारतबीचमा आएका उतारचढावले चीनबीचको सम्बन्ध नयाँ उचाइमा लैजानुपर्छ भन्ने विषयमा कम्युनिष्टहरूबीच एक प्रकारको अघोषित सहमति जस्तै छ ।

आठ वर्षअघि नेपालमा नाकाबन्दी लागेपछि तत्कालीन एमाले र माओवादीका नेताहरूबीच यो विषयमा गहन कुराकानी भएको बताइन्छ ।

२०७५ साल जेठ ३ मा दुई पार्टीबीच एकीकरण भएपछि पनि धेरै नेताहरू चीन भ्रमणमा गएका थिए ।

त्यसपछि पनि नेताहरूको आउजाउ बढेको छ। साथै बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेपछि चीनको नेपालसँगको पहिलो प्राथमिकता बीआरआई हो।

दुई देशबीच सम्बन्धको मेरुदण्ड बीआरआई हो। नेपालले बीआरआईको एउटा पार्ट हौँ भनेपछि चिनियाँहरूले नेपाली नेताहरूलाई बोलाउने गरेका छन्।

त्यसले गर्दा औपचारिक भेटघाट मात्रै होइन कि विभिन्न सङ्घसंस्थाहरूको व्यक्तिहरूसँग चीनको सम्बन्ध निकै बाक्लो भएको छ अहिले।

तत्कालीन एमाले र माओवादी हुँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीको धेरै राम्रो सम्बन्ध थियो। त्यहीबेला पनि दुई पार्टीका छुट्टाछट्ुटै औपचारिक अनौपचारिक चीन भ्रमण हुने गरेका थिए।

एकतापछि त्यसको ठूलो संख्या नेताहरूको आवातजावत देखिएको थियो। अहिले एमाले र माओवादीबीच सरकार बनेपछि पनि यसको निरन्तरता दिएको देखिन्छ।

कुनै समय ‘शान्त कूटनीति’को नीतिअन्तर्गत अरू देशको आन्तरिक मामिलामा चियोचर्चा नगर्ने चीन पछिल्लो समयमा निकै ‘सक्रिय कूटनीति’का साथ विश्वव्यापी रूपमै अघि बढेको र नेपालका पनि त्यसको प्रभाव परेको बताइन्छ।

खासगरी छिमेकी देशहरूको सवालमा विशेष रुची र चासो चीनले बढाउँदै लगेको सन्दर्भमा स्वभाविक रूपमा उसको रुचि, चासो र गतिविधिहरू नेपालमा पनि वृद्धि भएको देखिन्छ।

जसले गर्दा अहिले पनि नेपालका कम्युनिष्ट नेताहरूलाई चीन बोलाएर पार्टी एकतामा जोड दिएको स्रोतको दाबी छ।