कालिमाटी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन: ७ जनामा देखियो पाठेघरको मुखको क्यान्सर

सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन्। शिविरमा आएकाहरुमध्ये सात जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको छ।

यही वैशाख ५ गतेदेखि पाँच दिनसम्म आयोजना गरिएकोे स्वास्थ शिविर नेपालगञ्जबाट विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी थियो। शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सन्देश आचार्य, डा. देवेन्द्र आचार्य र डा. रवि शर्मा वाग्लेले स्वास्थ्य जाँच गरेका थिए।

कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले शिविरमा आएकाहरुमध्ये ७ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको जानकारी दिए। ‘१२५ जनामा भीआईए परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखियो,’ स्वास्थ्य शाखा प्रमुख थापाले भने, ‘उहाँहरुलाई थप उपचारका लागि नजिकको अस्पतालमा जान सुझाव दिइएको छ ।यसैगरी पाठेघर खसेका १० जना महिलाहरुमा रिङ्ग समेत राखिएको उनले बताए ।

जिल्लाको विकट मानिने कालिमाटी गाउँपालिकाका ७ वटै वडाका बासिन्दालाई पायक पर्ने हिसाबले वडा नं. १, ३, ५, ६ र ७ गरी पाँच ठाउँका स्वास्थ्य संस्था भवनमा शिविर सन्चालन गरिएको थियो । शिविरमा १ हजार २५ जनाले सेवा लिएको र निःशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर वलीले जानकारी दिए। उनले यस्ता खालका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

स्वास्थ्य शिविरमा जनचतेना सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सन्चालन गरिएको थियो। स्त्रीरोग विशेषज्ञ डा. सन्देश आचार्यले पाठेघरको संक्रमणले क्यान्सरको रुप लिने जोखिम बढिरहेको भन्दै स्वास्थ शिविरले त्यसको पहिचान गर्न कालिमाटी गाउँपालिकाका बासिन्दालाई सहज भएको हुनसक्ने बताए।

कार्यक्रमबाट गरिब, असहाय तथा लामो समयसम्म विभिन्न रोगबाट पीडित भएर स्वास्थ पहुँचबाट बाहिर रहेकाहरुले राहत महसुस गरेको कालिमाटी गाउँपालिकाकी उपाध्यक्ष सनसिल्ता वली डिसीले बताइन्।

स्वास्थ शिविरमा आएकाहरुले आफ्ना समस्याबारे चिकित्सकहरुसँग खुलेर सेवा तथा परामर्श लिएको डा। देवेन्द्र आचार्यले बताए।