भारत फेरि नाकाबन्दी शैलीमा,चियामै जालझेल

काठमाडौं। नेपाली चिया नकिन्न भारतले विभिन्न वाहनाबाजी गर्दै आएपछि नेपाली किसानलाई हैरानी भइरहेको छ। विश्वबजारमा नेपाली चियाको गुणस्तरलाई राम्रो मानिए पनि भारतले गुणस्तरमाथि प्रश्न उठाउदै भन्सारमा नै रोक लगाइरहेको छ।

आफुले निर्यात गर्ने सामानको सामान्य परीक्षण हुँदा पनि बम्किने भारतले नेपालमाथि भने हेपाह प्रवृति देखाएको भनि विगतदेखि नै आलोचना हुने गरेको छ।

यी ट्रक भित्र भारतमा निर्यात गर्न राखिएको नेपाली चिया छन्। तर,दुई हप्ता बढी भयो यि ट्रक अघि बढाउन पाइएको छैन।

चियाको गुणस्तर नापजाँचको नाममा भारतले चिया निर्यात गर्न नदिएको हो। पश्चिम बंगाल सरकारअन्तर्गतको कृषि निर्देशनालयले चियाको गुणस्तर परीक्षण बिना नछाड्नु भन्ने निर्देशन जारी गरेको थियो।

उक्त निर्देशन पछि विगतमा हुने रेन्डम जाँचलाई कडाई गरी प्रत्येक कन्साइन्टमेन्टको जाँच गर्नु पर्ने भन्दै भन्सारमा कडाई गरीएको छ। चियाको गुणस्तर जाँच भन्सारमा हुदैन भारतको केन्द्रीय प्रयोगशालामा हुन्छ।

प्रयोगशालाबाट चियाको रिपोर्ट आउन दुई हप्ता बढी समय लाग्छ। यसरी परीक्षणका नाममा भारतीयको अवरोधका कारण नेपालबाट चिया बोकेर गएका ट्रक नेपाल–भारत सीमानाका पानी ट्यांकीमा थन्किएका छन्।

नेपाली चियाको गुणस्तर राम्रो भएपनि भारतले गुणस्तरको नाममा कुरा उठाँउदै कडाई गरिरहेको हो।

नेपालबाट खदिर गरेर लगिएको चिया भारतमा दार्जिलिङ चियाको ब्रान्ड बनाएर विभिन्न मुलुकमा समेत बिक्री हुँदै आएको छ। तर नेपाल सरकाले चिया निर्यातको बिषयमा गम्भिर हुन नसक्दा किसानहरुले सधैं भारतबाट सास्ती पाई रहेका छन्।

नेपाली चिया गुणस्तरीय भएकाले आफ्नो चियाको बजार खस्किने सम्भावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरिरहेको व्यवसायीहरुको दाबी छ । नेपालमा उत्पादन भएको चिया २० प्रतिशतमात्रै नेपालमा खपत हुन्छ भने बाँकी ८० प्रतिशत भारतीय बजारमा खपत हुन्छ।

अहिले भारतको पश्चिम बंगालको पानीट्यांकीमा चिया लोड भएका १७ मालवाहक सवारी साधन बाटैमा थन्किएका छन्।

यो बर्षको चियाको सिजन बल्ल शुरु भएकाले भारतीय नियमका कारण यस बर्ष गत बर्ष भन्दा कम चिया निर्यात हुने देखिएको छ। समस्या समाधानका लागि छलफल थालिएको पनि छ तर, निकास निस्केको छैन।

नेपालबाट वार्षिक ३ अर्ब भन्दा बढी मुल्यको चिया निर्यात हुन्छ। यसको मुख्य बाजार भारत नै हो। तर भारतले रणनीतिक रुपमा नेपाली सामानमा अवरोध गर्दा किसानले दुख पाएका मात्रै छैनन्।

देशकै अर्थतन्त्रमा पनि धक्का पुगिरहेको छ। भारतमा निर्यातमात्रै होइन विश्व बजारमा ब्राण्ड बनाउन सकिने नेपाली चियालाई सरकारले विश्वसामु स्थापित गर्नेतर्फ ध्यान दिनै पर्छ।