भिजिट भिसामा पठाउने भन्दै ८२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। भिजिट भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब ८२ लाख रुपैयाँ ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

ठगी गरेर फरार रहेका बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका ३० वर्षीय कमल विश्वकर्मा दुबईमा पक्राउ परेका हुन्।

नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा विश्वकर्मालाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ।

वैदेशिक रोजगार विभागका अनुसार विश्वकर्माले भिजिट भिसामा दुबई पुर्‍याइदिने भन्दै विभिन्न व्यक्तिबाट ८२ लाख रुपैयाँ बराबर ठगी गरेको उजुरी परेको छ। उनीविरुद्ध ०७९ असार १२ गते १८ जनाले ठगी गरेको भन्दै विभागमा उजुरी दिएका थिए।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार उजुरी लगत्तै विश्वकर्मालाई पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो।