सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताएकी छन्। मंगलवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफलका क्रममा उनले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रशारण विधेयकमा मिसाउन नमिल्ने बताइन्।

उनले आगामी दिनमा सरकारको छुट्टै आधिकारिक अनलाइन मिडिया भएको खण्डमा भने सार्वजनिक सेवा प्रशारण विधेयकमाथि अनलाइन मिडिया रहने बताइन्। उनले नेपालमा न्युज एजेन्सी (रासस) लाई नेपाल टेलिभिजन,रेडियो नेपालसँगै एकै ठाउँमा मिसाउने अभ्यास नरहेको बताइन्।

उनले भनिन्,न्युज एजेन्सीलाई एकै ठाउँमा हाल्ने प्राक्टिस रहेनछ। बाहिर पनि हाम्रो यहाँ रासस भनेको जस्तै अरूको पनि न्युज एजेन्सी हुन्छ। न्युज एजेन्सी अलग्गै राखेर गर्ने कुरा रहेछ।

अनलाइन मिडिया भनेर सरकारको आधिकारिक अनलाइन मिडिया छैन। सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि यसलाई कहाँ के ल्याएर मिसाउने,मिसाउने भन्ने भएन।

मन्त्री शर्माले गोरखापत्रलाई पनि नेपाल टेलिभिजन र रेडियो नेपालझैँ मर्ज गर्ने वा नगर्ने भन्नेबारेमा समितिबाटै स्पष्ट निर्णय हुनुपर्ने बताइन्।