घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं। सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रूपैयाँ र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढाएर पठाएको छ।

निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ। नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली,विराटनगर,वीरगन्ज,जनकपुर,अमलेखगन्ज,भलवारी,नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा लिटरको १५८ रूपैयाँ पर्नेछ।तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ।

हवाइ इन्धन भने आन्तरिकतर्फ लिटरको १३७ रूपैयाँ पर्नेछ। बाह्यतर्फ प्रतिलिटर अमेरिकी डलर १.०४२ पर्नेछ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना १५/१५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू,आफ्नो प्रशासनिक खर्च,ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल,डिजेल,मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।