पर्यटन क्षेत्रको आम्दानीमा ३ प्रतिशतले वृद्धि

काठमाडौं,असार २९ । नेपालको विदेशी मुद्रा आर्जनको मुख्य आधारमध्येको एक पर्यटन आम्दानी सन् २०१९ मा मात्र ३ प्रतिशतले बढेको छ । पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको पर्यटन तथ्यांक २०२० अनुसार नेपालको सन् २०१९ मा पर्यटन क्षेत्रबाट आम्दानी ८७ अर्ब ३७ करोड रुपैयाँ रह्यो । यस्तो आम्दानी सन् २०१८ मा ८४ अर्ब ८२ करोड रुपैयाँ थियो ।

 

सन् २०१८ को तुलनामा २०१९ मा पर्यटक आगमन झीनो संख्यामा वृद्धि हुँदा पर्यटन आम्दानी पनि त्यही मात्रामा बढेको पाइएको छ । सन् २०१९ मा नेपाल आउने विदेशी पर्यटकको संख्या २ दशमलव २ प्रतिशतले मात्रै बढेको थियो ।

 

पर्यटन मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ट्रेकिङ र माउन्टेनियरिङका लागि आउने पर्यटक संख्यामा पनि आशातीत वृद्धि हुनसकेको देखिँदैन जबकी नेपाललाई यी दुवै क्षेत्रका लागि राम्रो पर्यटकीय गन्तव्य मान्ने गरिन्छ । ट्रेकिङ र माउन्टेनियरिङका लागि नेपाल आउने पर्यटकको संख्या सन्् २०१९ मा मात्र १ दशमलव ६३ प्रतिशतले बढेको छ ।

 

मन्त्रालयको तथ्यांकअनुसार नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ अवधि पनि सन् २०१९ मा खासै बढेको छैन । सन् २०१९ मा नेपाल आउने पर्यटकको औसत बसाइ १२ दशमलव ७ दिन रहेको छ, जुन २०१८ मा १२ दशमलव ४ दिन थियो ।

 

तर, पर्यटकको औसत खर्च भने ९ दशमलव १ प्रतिशतले बढेको छ । नेपालमा रहँदा विदेशी पर्यटकले सन् २०१९ मा औसत दैनिक ४८ अमेरिकी डलर रह्यो । यसअघि विदेशी पर्यटकको औसत दैनिक ४४ अमेरिकी डलर थियो ।

 

नेपाल भ्रमणमा आउने अधिकांश मूलतः पाँच मुलुक, भारत, चीन, अमेरिका, बेलायत र श्रीलंकाका पर्यटक रहेका छन् । कुल पर्यटक संख्याको ५३ प्रतिशत यिनै पाँच मुलुकका हुन् ।

 

त्यस्तै, नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी बिदा तथा मनोरञ्जन गर्ने प्रयोजनका लागि आउने गरेका छन् ।सन् २०१९ मा बिदा तथा मनोरञ्जन गर्ने प्रयोजनका लागि ७ लाख ७८ हजार पर्यटक नेपाल आएका थिए ।

 

मन्त्रालयको तथ्यांकअनुसार सन् २०२९ मा सबैभन्दा बढी पर्यटक भित्र्याउने विमान कम्पनीमा नेपाल वायुसेवा निगम नै रहेको छ । निगम सन् २०१८ मा पनि पहिलो स्थानमै थियो । निगमपछि बढी पर्यटक भित्र्याउने विमान कम्पनीहरूमा दोस्रोमा कतार एअर, तेस्रोमा फ्लाई दुबई ,चौथोमा एअर इन्डिया र पाँचौंमा एअर अरेबिया रहेका छन् ।

 

सन् २०१९ मा ८३ प्रतिशत पर्यटक हवाई मार्गबाट र १७ प्रतिशत पर्यटक स्थल मार्गबाट आएको मन्त्रालयको तथ्यांकले देखाउँछ । हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ जना र स्थल मार्गबाट २ लाख १ हजार ३०७ जना पर्यटक नेपाल आए ।

 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्ष नै स्थगित गर्नुपर्‍यो । कोरोना महामारीकै कारण मुलुकको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन अझै केही वर्ष लाग्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

 

मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन अब आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको धारणा छ । त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले २०२० मा कोरोनाका कारण पर्यटनबाट अपेक्षित लाभ लिन नसकिरहेको सन्दर्भमा अब आन्तरिक पर्यटनबाटै मुलुकको पर्यटनलाई पुनर्जीवित गर्दै अगाडि जानुपर्ने बताउँछन्।आर्थिक अभियानबाट,