आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ,सातामा दुई दिन सार्वजनिक बिदा

 काठमाडौं ,भदौ २६ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले विगतमा गरिरहेको एक गल्तीबाट पाठ सिकेको छ, त्यो हो आन्तरिक पर्यटकमाथिको उपेक्षा । यसलाई स्वीकार गर्छन्, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं । उनी भन्छन्, ‘अब हाम्रो घैंटोमा घाम लागेको छ, हिँजो डलर–डलर भन्दै आन्तरिक पर्यटकमाथि वेवास्ता भयो ।

 

उनको यो संकेत कोरोना महामारीकै बीचमा आन्तरिक पर्यटक घुमघाममा निस्कन्छन् भन्ने होइन, विदेशी पर्यटक आउन लामो समय लाग्ने अवस्थामा शुरुवात आन्तरिक पर्यटकबाटै गर्न सकिने अवस्था थियो । तर, विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिँदा दुवै क्षेत्र सुस्ताउने चिन्ता व्यवसायीमा छ । यसै सन्दर्भमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्र आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति निर्माणमा जुटेका छन् ।

सातामा दुई दिन सार्वजनिक बिदा ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन् । मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए । मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ ।

 

आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ

मन्त्री भट्राईका अनुसार अहिले आन्तरिक पर्यटन प्रवर्द्धनबाटै पर्यटन क्षेत्रलाई जीवित राख्न सकिने सम्भावनाबारे सरकारले निजी क्षेत्र र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा रणनीति बनाइरहेको छ । सम्भवतः सोही रणनीतिमा साताको दुई दिन सार्वजनिक बिदा दिने गरी कार्यक्रम समेटिने भएको छ ।

 

महामारीबाट पर्यटन क्षेत्रलाई तत्काल धरासायी हुन नदिन आन्तरिक पर्यटन रणनीति बनाएर जान लागिएको नाट्टाका अध्यक्ष गुरागाईंले जनाए । ‘लामो समय विदेशी पर्यटक आउने सम्भावना नरहेका कारण अब आन्तरिक पर्यटककै भरमा उद्योग धानिनुपर्छ,’ उनले भने, ‘विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिएका हामी पनि अब सच्चिनु पर्ने बेला भएको छ ।’

माइनसमा व्यवसाय

६ महिनादेखि आम्दानीविहीन होटेल, एअरलाइन्स र पर्यटन व्यवसायीले अब पर्यटन व्यवसायी माइनसमा गइसकेको बताउँछन् । आम्दानी रोकिएको ६ महिना भयो, घरभाडा तिर्नुपरिहाल्यो, कर्मचारीलाई तलब दिनु प-यो, मर्मत सम्हार नियमित नगरेपछि झन् ठूलो भार पर्छ,’ होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘हामी त अब माइनसमा छौं ।’ उनले नेपाल राष्ट्र बैंकमा स्थापना हुने भनिएको पुनरुद्धार कोषबाट समेत कात्तिकयता ऋण लिन सक्ने अवस्था नभएकाले व्यवसायीमा समस्या थपिएको बताए ।

 

आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ ।

 

उता, वायुसेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेल सेवा सन्चालन हुनासाथ भरिभराउ मान्छे नहुने भन्दै खुला भएको सन्देश दिनसमेत आन्तरिक उडान सुरु गर्नु पर्ने सुझाव दिन्छन् ।

 

व्यवसायीहरुका अनुसार गत वर्ष सेप्टेम्बर–अक्टोबरमा आएका कतिपय बुकिङ अहिले पनि एक्टिभ छ । त्यसैले सरकारले अनुमति दिने हो भने केही विदेशी पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको व्यवयायीको भनाइ छ । त्यसका लागि स्वास्थ्य प्रोटोकलमा कडाइ गरी भिसा नीति भने सहज बनाउनु पर्ने माग व्यवसायीको छ।

अनलाइनखबरबाट,