हुम्लाको लिमीमा सुुरु भयो नियमित खोप : सबै प्रकारका खोप बालबालिकालाइ लगाउन थालेपछि अभिभावक खुसी

लिमी (हुम्ला), कात्तिक १४ । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।

यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् ।

 

सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन थालेका छन् । गाउँमा स्थायी रूपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप लगाउने कार्य सम्भव भएको हो ।

एक बालककी आमा छिरिङ छोवो तामाङले आफ्नो छोराले पहिलो पटक गत असारमा खोप लगाउन पाएको बताउनुभयो ।

 

खोपसम्बन्धी कुनै जानकारी नपाएकी उहाँले सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउन आउँदा दिन मान्नुभएको थिएन । पछि सबै कुरा बुझाएपछि उहाँ आफ्नो छोरालाई खोप लगाउन सहमत हुनुभयो ।

नेपाली राम्रोसँग नबुझ्ने तामाङले खटाएका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण छोराको खोप छुटेको बताउनुभयो ।

असारयता खोप लगाउन पाएका बालबालिका लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् । लिमी स्वास्थ्य चौकीमा ११ महिनाकी छोरीलाई लिएर नियमित खोप लगाउन पुग्नुभएकी लिमी हल्जी गाउँकी जाङ्मु तामाङले राज्यबाट निःशुल्क रूपमा आउने सेवासुविधा पहिलो पटक उपभोग गर्न पाएको बताउनुभयो ।

 

यसअघि उहाँका तीन छोरा खोप नलगाईकन हुर्के । त्यति बेला उहाँलाई नियमित खोपका बारेमा जानकारी रहेनछ । थाहा भएपछि भने यसलाई नियमित गर्नेतर्फ आपूmहरूको सहयोग रहने उहाँले बताउनुभयो । गाउँका बालबालिकाले खोप लगाउन पाएपछि सिंहदबार गाउँ पुगेको विश्वास हुन थालेको तामाङले बताउनुभयो ।

हल्जी गाउँमा १९ जना बालबालिका खोप लगाउने उमेरका छन् । स्वास्थ्य चौकी इन्चार्ज गोर्ख भण्डारीले आफूले नियुक्ति पाएलगत्तै लिमीका गाउँमा आएर नियमित सेवा प्रवाहमा लागेको बताउनुभयो ।

 

लिमीका अन्य दुई गाउँ तिल र जाङमा भने नियमित खोप कार्यक्रमका बेला चार घण्टा पैदल हिँडेर घरघरमा खोप लगाइदिन जाने गरेको उहाँले बताउनुभयो ।

तिलमा खोप लगाउने दुई बालबालिका र जाङ गाउँमा सात जना बालबालिका छन् । गाउँमा बालबालिका जति भए पनि खोप पाउनु बालबालिकाको अधिकार र खोप लगाउनु स्वास्थ्यकर्मीको दायित्व रहेको इन्चार्ज भण्डारीले बताउनुभयो ।

उहाँसहित चार स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गरेर लिमीमै नियमित बस्ने व्यवस्था गरेको छ । यसअघि बालबालिकाको खोपको त के कुरास अन्य सिकिस्त बिरामी हुँदा पनि लामा बसाल्ने, चीनको ताक्लाकोट वा सदरमुकाम सिमकोटबाट परीक्षणबिनै दुखाइका आधारमा औषधि झिकाएर उपचार गर्नु सामान्यजस्तै थियो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले लिमीमा खोप कार्यक्रम पहिलो पटक नियमित भएको स्वीकार गर्नुभयो ।

 

अब यसलाई निरन्तरता दिन स्वास्थ्य शाखाले प्रयत्न गरिरहेको उहाँको भनाइ छ । लिमी बस्ने स्वास्थ्यकर्मीका लागि थप सुविधाको व्यवस्था गरेर बाह्रै महिना लिमी बस्ने व्यवस्था गर्नेतर्फ पहल भइरहेको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।