बर्षाका कारण बैभन्दा बढी प्रभावीत दाङ जिल्ला भएको छ

१८असार काठमाडौं । नेपालको पूर्वी क्षेत्रबाट सुरु भएको मनसुन पश्चिममा पुगेपछि लगातार दुई दिनदेखिको अविरल वर्षाले जनजीवन निकै कष्टमय बनाएको छ । दुई दिन पहिलेसम्म सुख्खा रहेको पश्चिमी नेपाल ठीक दुईदिन पछि बाढीले जलाम्यै बनाएको छ । हालसम्म बाढीबाट दाङ जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । भारी वर्षाका कारण महेन्द्र राजमार्गका सडक खण्डहरु पनि अबरुद्ध हुन गएका छन् ।

बबई, नारायणी र राप्ती नदीले खतराको लेबल काट्न थालेको भनी स्थानीय जनताद्वारा चिन्ता व्यक्त गरिएको छ । यसै बीचमा तुलसीपुर–घोराही सडक खण्डमा ससाना खोलाहरुमा पानीको बहाव एक्कासी ह्वात्तै बढेपछि सवारी साधन सञ्चालनमा सतर्कता अपनाइएको छ ।

हालसम्म त्यहाँको बाटोमा आकाशे पुल बनाइएको छैन । खोलामुनि रहेको कजवेबाट सवारी साधनहरु वारपार गराउनुपर्ने भएकाले यातायातमा यस्तो कठिनाइ सिर्जना हुन गएको बताइएको छ । यस्ता ठाउँहरुमा बनाउन थालिएका पुलहरु अझै पनि निर्माणाधीन अवस्थामा रहेकाले स्थानीय तथा यात्रुहरुले योे सास्ती भोग्नु परेको हो ।

स्थानीय जनताको गुनासो छ ‘पुलको काममा ढिलाइ भएको, खोलाको सही डाइभर्सन नगरिएको र बाटो निर्माणमा लापर्वाही गरिएको आदि कारणले वर्षौंदेखि वर्षात्का बेला यस्तै जोखिमपूर्ण यात्रा गर्नु परेको हो ।’

भारी वर्षाको कारणले राप्तीको तटीय क्षेत्रमा पानीको लेबल बढ्दै गइरहेको छ । सदा झैं दाङको पश्चिम दक्षिणको केही भाग र देउखुरीको अधिकांश भाग जलमग्न हुन थालेको छ ।