११ वर्षपछि १ सय ८६ जनालाई सर्वोच्चले दियो सफाइ

काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक वन फँडानी गरी भ्रष्टाचार गरेको आरोप लागेको एक मुद्दामा १ सय ८६ जनाले सफाइ पाएका छन् ।

डडेल्धुराका विभिन्न सामुदायिक वनका कर्मचारी, उपभोक्तासहित १ सय ८६ जनाले ११ वर्षपछि भ्रष्टाचारको आरोपबाट सफाइ पाएका हुन् ।

सर्वोच्चले सोमबार अन्तिम फैसला सुनाउँदै अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले सबै प्रतिवादीलाई भ्रष्टाचारको मुद्दामा उन्मुक्ति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ असोजमा उनीहरूविरुद्ध ४३ करोड १० लाख १४ हजार ३ सय ७२ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।