कुलमान घिसिङले बुझाए स्पष्टीकरणको जवाफ
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन्। घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन्। गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो। मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो।
आफ्नो निर्णयमा साथ नदिएपछि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ सातदिने स्पष्टीकरण सोधेका थिए। खड्काले आफ्ना सचिव सुरेश आचार्यमार्फत ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने? भन्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए।
स्पष्टीकरणमा कार्यसम्पादन प्रभावकारी नभएको, मन्त्रालयले माग गरेको १५ बुँदे विवरण समयमै उपलब्ध नगराएको, उपलब्ध गराएको विवरण पनि अपुरो र खोजेजस्तो नभएको जिकिर लिँदै जवाफ दिनू भनिएको थियो।
त्यसका अतिरिक्त छबुँदे विवरणमा सत्यरतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ पठाएको अभियोग पनि घिसिङमाथि लगाइएको थियो।
सँगै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेको, कार्यसम्पादन पुनरवलोकन (रिभ्यू) नगराएको, कार्यसम्पादनमा ५० प्रतिशतकम अंक ल्याएको, असहयोगी भूमिका खेलेको प्रश्न सोधिएको थियो।
घिसिङले कार्यसम्पादन विवरण शुक्रबार बुझाएका थिए। स्पष्टीकरण चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर घिसिङलाई हटाउने मन्त्री खड्काको तयारी छ।
