प्रधानमन्त्री कप क्रिकेट: आज पनि दुई खेल

काठमाडौं।सुदूरपश्चिम प्रदेश र साबिक विजेता एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरवात गरेका छन् ।

शनिबारदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो।

५६ रनको झिनो लक्ष्य सुदुरपश्चिमले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो। सुदुरपश्चिमलाई सहज जित दिलाउन ओपनर रेवती धामीले नटआउट २१ रन बनाइन।

यसअघि टस गुमाएर पहिले ब्याटिङका लागि निम्त्याइएको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनायो। खेलको प्लेयर अफ द म्याच बनेकी रेवतीले ३ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिइन।

शनिबार नै भएको दोस्रो खेलमा विभागीय टोली एपिएफले कर्णाली प्रदेशलाई १११ रनको फराकिलो अन्तरले हराएको छ। १८३ रनको बलियो लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो। एपिएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १८२ रनको विशाल योगफल तयार गरेको थियो। एपिएफकी ओपनर ममता चौधरीले नटआउट सर्वाधिक ७८ रन र कप्तान इन्दु बर्माले नटआउट ५२ रनको अर्धशतकीय पाली खेलिन्।

प्रतियोगिता अन्तरगत आज एपीएफले गण्डकी प्रदेशसँग विहान ९ बजे खेलल्नेछ भने दिउँसो एक बजे लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुनेछन्।