सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं।सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार त्यहाँ प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भूभाग ७.७१ प्रतिशतले ह्रास आएको छ। तर उत्पादन भने २.८५ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौको उत्पादन क्रमशः ६५.७१ प्रतिशत र २५.०३ प्रतिशतले वृद्धि भएको छ। तेलहनको उत्पादनमा सबभन्दा बढी १८.५३ प्रतिशतले ह्रास आएको छ।

पशुजन्य उत्पादनअन्तर्गत दूध ४.५८ प्रतिशत, मासु ९.३२ प्रतिशत र अण्डा ६.४ प्रतिशतले बढेको छ। प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १० दशमलव ८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ।

गत असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा १.३१ प्रतिशतले ह्रास भई १६ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ पुगेको छ।