नेपालको हितअनुसार सन्धि-सम्झौता पुनरावलोकन गरिने

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकताअनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि(सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन्। उनले अन्तरराष्ट्रिय कानून र कुटनीतिक प्रचलनअनुसार सन्धि–सम्झौताको पुनरावलोकन सम्बन्धित पक्षराष्ट्र तथा अन्तरराष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने पनि बताए।

उनले नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गरिने बताए।

उनले कानून, न्याय तथा संदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा गर्ने कार्य भइरहेको बताए।

सम्बन्धित पक्षराष्ट्र तथा अन्तरराष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने र पारस्परिक सहमति भएका सन्धि–सम्झौतालाई अन्तिम रूप दिने काम समेत भइरहेको मन्त्री खनालले बताए।