सरकारी गाडी चोरेर ४ लाखमा बेच्ने युवा पुर्पक्षका लागि थुनामा,किन्ने धरौटीमा छुटे
काठमाडौं। सरकारी गाडी चोरेर बेच्ने व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन्। सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय, तत्कालीन डीन डा.होमनाथ जोशीको सरकारी निवासबाट सरकारी गाडी चोरेर बेच्ने २३ वर्षी निराजन कुँवर पुर्पक्षका लागि थुनामा गएका हुन्।
गत भदौ २५ गते जेनजी आन्दोलनको मौका छोपेर कुँवरकै योजनामा बा २ झ २८५९ नम्बरको सरकारी गाडी चोरिएको थियो।
आन्दोलन पश्चात सो गाडी फिर्ता गर्नुको साटो कुँवरले घोडाघोडी नगरपालिका-२ का ३१ वर्षीय अर्जुन कार्कीसँगको छलफलपछि भारत पुर्याएर स्वरुप परिवर्तन गरी ४ लाख रुपैयाँमा बेचेका थिए। सो गाडी कार्कीलाई नै बेचिएको अनुसन्धानबाट खुलेको छ।
जिल्ला अदालतको थुनछेक बहसपछि कुँवरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ। सो गाडी खरिद गर्ने कार्की भने साढे तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
प्रहरीले उक्त सरकारी गाडी चोरी गरेर स्वरुप परिवर्तन गरी बेचेको प्रकरणमा संलग्न अन्यको समेत खोजी गरिरहेको छ।
