आज पनि रविको थुनछेक बहस,आजै फैसला आउन सक्ने

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगीका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बयान आज पनि हुने भएको छ ।
बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका उनको न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको हो ।
यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना वकिलहरुले बहस गरेका थिए । जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए ।
उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।
त्यस्तै प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । अन्य वकिलहरुले बहस गर्न बाँकी रहेकाले थुनछेक लम्बिइएको अदालतले जनाएको छ ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताए । उनका अनुसार जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने छ । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा जिल्ला सरकारी वकिलले माघ ६ गते पूरक मुद्दा दर्ता गरेको थियो ।
कास्की र काठमाडौं जिल्ला अदलबाट धरौटीमा रिहा भएका लामिछाने मंगलबार रुपन्देही पुगेका थिए भने बुधबार आफैं अदालतमा हाजिर भएका थिए।
