अछाम घटना: किशोरीसँगै गोठालो जाने दुईजना पक्राउ
धनगढी । अछाममा गाइबाख्र्रा चलाउन गएका दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धानका प्रहरीले दुईजना पक्राउ गरेको छ।ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो। उक्त घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीका अनुसार मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। २० वर्षमुनिका उनीहरूको परिचय खुलाइएको छैन्।
शनिबार गोठालो गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा उनीहरु दुवैजना मृत भेटिएका थिए। मृतकको टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएको थियो। उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको छ।
प्रहरीले उक्त घटनाको तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू भीरबाट ठूलो ढुंगा खसेको देखिएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले सत्यतथ्य रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
