अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका दुई जना धरौटीमा रिहा, रास्वपा नेता कारागार चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एकरएक लाख धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए ।

प्रहरीका अनुसार जैसी रास्वपा जुम्लाको उपसभापति हुन्। जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए।