उर्जा मन्त्रालयले दियो कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई ‘शून्य’ अंक
काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कार्य सम्पादनमा शून्य अंक दिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको हो।
ऊर्जा मन्त्रालयले घिसिङले बुझाएको कार्यसम्पादन विवरणका आधारमा नम्बर दिएको जनाएको छ। समयमा विवरण नबुझाएको भन्दै उनलाई शून्य नम्बर दिइएको बुझिएको छ।
ऊर्जा मन्त्रालयबाट आव २०७८/७९ र २०७९/८० मा गरेको कार्यसम्पादनमा प्रबन्ध निर्देशक घिसिङको क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त गरेका थिए।
पछिल्लो समय ऊर्जा मन्त्री दीपक खड्का र कुलमान घिसिङबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा विवाद भइरहेको छ। अहिले दुईबीचको विवाद चरम उत्कर्षमा छ।
मन्त्री र कुलमानबीच विवादका कारण २ महिनादेखि प्राधिकरणको सञ्चालक समितिको बैठक समेत बस्न सकेको छैन्।
