रौतहट प्रहरीले पक्राउ गर्‍यो १४ फरार प्रतिवादी

रौतहट। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले रौतहट प्रहरीले एकै दिनमा १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

रौतहट जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएका विभिन्न अभियोगमा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

आइतबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले खोजी तथा पक्राउ अभियान सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये लागुऔषध, जुवा, कुटपिट, जालसाजी, वन ऐन उल्लङ्घन तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू रहेका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, लागूऔषध मुद्दामा प्रेम राना, सागर अर्याल, विन राना मगर ९किरण राना मगर० र सन्तमान लामा ९सन्चरमान तामाङ० लाई पक्राउ गरिएको छ। त्यस्तै, जुवा खेल्ने अभियोगमा किशोर कुमार चौधरी, राम दिनेश साह र शिवराज अधिकारी क्षेत्री पक्राउ परेका छन्।

कुटपिट तथा लुटपिट मुद्दामा कमल साह तेली र शुभ नारायण साह पक्राउ परेका छन् भने, जालसाजी अभियोगमा बद्री पासवानलाई नियन्त्रणमा लिइएको छ। सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा मो असलमलाई पक्राउ गरिएको छ।

वन ऐन उल्लङ्घन गरेको अभियोगमा २० दिन कैद तथा ३,०३७ रुपैयाँ जरिवाना तोकिएका शम्भु चौधरी, किशोरी चौधरी (नन्दकिशोर चौधरी) र बिरेन्द्र चौधरी पक्राउ परेका छन्।

रौतहट प्रहरीले अदालतको निर्णय कार्यान्वयनलाई तीव्र बनाउँदै आएको छ। यसै सन्दर्भमा, प्रहरीको सक्रियताले फरार अभियुक्तहरू पक्राउ पर्ने क्रम जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायका अनुसार, जिल्ला प्रहरी कार्यालयले अदालतको आदेशअनुसार फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्य जारी राखेको छ।