बालेनलाई गलाउने एमालेको रणनीति,प्रमुख प्रशासकीय नपठाएर अट्को थाप्दै ओली सरकार ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई घुँडा टेकाउने रणनीतिमा लागेका छन्।

एमालेले फलत काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाइ प्रयोग गरेर बालेनलाइ जसरी हुन्छ घुँडा टेकाएरै छोड्ने योजना बनाएको देखिन्छ।

प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएर अट्को थापेर कर्मजारीहरूलाइ नै आन्दोलित बनाएर बालेनलाइ झुकाउने रणानिति बलियो बनाउदै गएको देखिन्छ।

देशभरका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा चर्चा र विवादमा रहेको काठमाडौं महानगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। जसका कारण महानगरको काम कारबाही नै प्रभावित भइरहेको छ भने मेयर बालेन र केन्द्र सरकारबीचको टकराव झन् झन् बढ्दै गएको देखिएको छ।

‘दुस्मनलाई पराजित गर्नु छ भने उसको कमजोरीमा आक्रमण गर।हो यही चाणक्य नीति प्रधानमन्त्री ओलीले अपनाइरहेका छन्। उनी आफ्ना विरोधीहरुलाई घुँडा टेकाउन साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न पछि पर्दैनन्।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई गलाउन प्रधानमन्त्री ओलीले सकेजति सबै उपाय लगाइरहेका छन्। बालेन मेयरमा निर्वाचित भएदेखि काठमाडौं महानगरपालिकाले गर्ने हरेक काममा ओलीले कुनै न कुनै अड्चन थाप्दै आएको देखिन्छ।

स्वतन्त्र रुपमा उदाएका मेयर बालेन पुराना राजनीतिक दल र भागबन्डाका आधारमा बाँडेर खान पल्केका नेताहरुका लागि आँखाको तारो बनेका छन्।

केही उदाहरणीय काम गरेका मेयर बालेनप्रति नागरिकमा आशा, भरोसा र विश्वास बढ्दो क्रममा छ। जुन पुराना दलहरुका लागि टाउको दुखाईको विषय बनिरहेको छ।

त्यसमा पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ र स्वतन्त्र भन्नासाथ एलर्जी नै हुन्छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हुन् कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सबैलाई ओलीले देखिसहन्नन्। सिंहदरबार छेउैमा रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उनको पहिलो निसानामा पर्दै आएका छन्।

जबजबबालेनले काम गर्न खोज्छन् तबतब ओली विभिन्न अड्चन थापेर तगारो बन्ने गरेका छन्। अव्यवस्थित पार्किङ हटाउने कार्य होस् वा धरहराको विषय होस्, फुटपाथ फराकिलो बनाउने विषय होस् वा नदि आसपासका संरचना हटाउने कार्य होस्। सबैमा ओली नै कही न कही बाधा बनेर आएको देखिन्छ।

पछिल्लो समय स्थानीय सरकारको प्रमुख कार्य सम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकाप्रति केन्द्र सरकारले पूर्वाग्रह साँधिरहेको छ। जसका कारण महानगरको अतिआवश्यक काम कारबाही तीन महिनादेखि ठप्प छ । यसविषयमा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले संसदमा अवाज उठाए पनि सरकारको ध्यान अझै जान सकेको छैन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४’ अनुसार प्रमुख प्रशासकीय अधिकृतले गर्नु पर्ने महानगरको कामकारबाही रोकिएको छ। सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्याङ्कन गर्ने, गराउने लगायतका काम रोकिएको छ।

यस्तै, आर्थिक कारोबारको हिसाब तथा अभिलेख फछर्यौट गर्ने, आयोजनाहरुको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने, सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने,सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य रोकिएको छ। प्रमुख प्रशासकीय अधिकृतले गर्ने काम रोकिँदा महानगर अस्तव्यस्तको अवस्थामा पुगेको छ।

यता प्रधानमन्त्री ओली र उनका नेता कार्यकर्ताहरुले भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकै कार्यशैलीका कारण कर्मचारी टिक्न नसकेको आरोप लगाइरहेका छन्।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण पाठकले फेसबुकमार्फत मेयर शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै लेखेका छन्। यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्नेरुउनले आफूहरू पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेको उल्लेख गर्दै नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन, भन्दै बालेनलाई चेतावनी दिएका छन्।

मेयर शाहलाई प्रधानमन्त्री ओली निकटका नेता कार्यकर्ताहरुले यस्ता आरोपहरु निरन्तर लगाउँदै आएका छन्।

काठमाडौंका मेयर बालेनले आफ्नो अभिव्यक्ति राख्ने माध्यमका रुपमा सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका छन्। उनको २३ लाख फलोअर्स भएको फेसबुक पेज मुख्य रुपमा उनको हतियार बनेको देखिन्छ।

जहाँ उनले आफ्ना अभिव्यक्तिका साथै केही प्रष्ट्याउनु पर्ने विषयलाई पनि पोस्ट गर्ने गरेका छन् । गत सोमबार मेयर वालेनले प्रमुख प्रशासकीय अधिकृत महानगरमा नटिक्नुमा बालेनकै दोष भन्दै लगाएको आरोपको खण्डन गरे।

यसक्रममा ओली सरकारले भ्रमको खेती गर्नमा पीएचडी पास गरेको भन्दै बालेनले उक्त आरोपको खण्डन गरेका छन्। उनले ६ बुँदामा वर्तमान सरकारले आफूमाथि विभिन्न आरोप र भ्रम छरेको बताएका छन्।

काठमाडौं भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने भ्रमदेखि महानगरमा कार्यकारी टिक्दैन भन्नेसम्मको भ्रमको खण्डन गरेका छन्। उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ।

हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला। तर त्यसो भन्दा पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो।

अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ।मेयर बालेनले अगाडि भनेका छन्, ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनँ।

सुशासन कायम गरेरै छोड्छु। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १५ गतेसम्ममा काठमाडौं लगायतमा प्रशासकीय अधिकृत खाली भएका स्थानीय तहमा अधिकृत पठाउने भने पनि हालसम्म पठाएको छैन।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको १२ तलाको नक्सा पास प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसलाई मिचेर १९ तलको नक्सामा स्वीकृति दिएको भन्दै मेयर बालेनले गत पुस ५ मा छानबिनमा तानेका थिए।

उनको ठाउँमा अरु कोही पठाइदिन भन्दै पुस २४ मासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए। तर हालसम्म काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन।

मन्त्रालयले छानबिन समितिको प्रतिवेदन मेयर बालेनले लुकाएको आरोप लगाउँदै आएको छ। प्रतिवेदन बाहिर नआई प्रमुख प्रशासकीय अधिकृत महानगरमा पठाउन नमिल्ने मन्त्रालयले अडान राखेकाे छ।  फलत बालेन र प्रधानमन्त्रीबीचकाे लडाइले काम गरेर खाने कर्मचारी मर्कामा परेकाे देखिन्छ। त्यसैले लडाइ जसकाे भएपनि सहमति गरेर पीडित कर्मचारीले बेलैमा आफ्नाे पारिश्रमिक पाउनुपर्ने सबैले माग गर्दै आएका छन्।