व्यापार व्यवसाय सुक्नु र घर खाली हुनुमा मन्दीको प्रभाव कि जनतामा सचेतनाको विकास ?

बजारमा अधिकांश व्यापारी भन्छन्, ‘व्यापार नै भएन भाडा तिर्न सकिएन।सानादेखि ठुला व्यापारीसम्मका अवस्था अहिले यही छ। चाँहे त्यो किराना पसल होस् या भाटभटेनी, सुपर मार्केट वा बिग मार्ट। बहनी समेत नहुने व्यापारीहरुले गुनासो गर्ने गरेका छन्। किराना पसल वा साना व्यापार व्यवसाय गर्दै आएकाहरु भन्छन्,व्यापार हुन्छ कि भनेर बिहानै पसल खोल्छौं। तर बहनीसमेत नभई बेलुका घर फर्कनुपर्छ।

यता, भाटभटेनी, सुपर मार्केट, बिग मार्टहरु त सुनसान देखिन्छन् । अहिले बजारमै मानिसको चहलपहल घट्दै गएको छ। त्यसो त व्यापारीहरुले आम उपभोक्ता ठग्दै आएका थिए । एक सय रुपैयाँ नपर्ने सामानलाई पाँच सय रुपैयाँमा बेच्थे।

कुहिएका, सडेका, बिग्रिएका वा म्याद गुज्रिएका सामान पनि चर्को मूल्यमा बेच्थे । आम उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड गरेर आफ्नो फाइदाका निम्ति व्यापारीहरुले गुणस्तरहीन सामान बेचिरहे। र, अहिले पनि यो प्रयास जारी नै छ।

बजारमा व्यापार व्यवसायमा मन्दी आउनुमा यो पनि एक कारण हो। सञ्चारमाध्यमहरुमा यस्ता खबरहरु बाहिरिन थालेपछि सर्वसाधारण जनता सचेत भए। उनीहरुले सामान नै किन्न छोडिदिएका छन्। अहिले जोकोही पनि जताकहाँ सामान किन्दा समेत एकदमै सोचविचार गरेर मात्रै किन्छन् भने अधिकांशले किन ठगिनु वा फस्नु भनेर सामान किन्ने छोडेका छन्। यसको उदाहरण भाटभटेनी, सुपर मार्केट र बिग मार्टहरु पनि हुन्।

केही वर्षअघिसम्म यी व्यवसायिक सटलहरुमा मानिसहरुको भीडभाड हुन्थ्यो। यहाँ सामान किन्न मानिसहरु मरिहत्ते गर्थे । भाटभटेनी, सुपर मार्केट वा बिग मार्टमा सामान किनेमा ठूल्लै उपलब्धि हुनेजस्तो गरिन्थ्यो भने यहाँका सामान गुणस्तरीय रहेको सर्वसाधारणको विश्वास थियो । तर, पछिल्लो समय यी व्यवसायिक महलहरुका सामान गुणस्तरहीन रहेका खबर फैलिएपछि वा सम्बन्धित निकायको अनुगमनले नै सोलाई पुष्टि गरेपछि अहिले जनता सचेत भएका छन्।

अब भाटभटेनी, सुपर मार्केट र बिग मार्टले सित्तैमा सामान दिन्छुभन्दा समेत जनता लिने छैनन् । यता, यी व्यवसायिक महलहरुमा काम गर्ने कर्मचारीहरुले पनि महिनौंदेखि तलब नपाएको गुनासो सुनिन्छ । काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । व्यापार व्यवसाय ठप्पै भएको सबैलाई थाहै छ । कुनै बेला मानिसको चाप थेगिनसक्नु हुने उपत्यकामा अचेल कोही बाटोमा भेट्न समेत मुस्किल पर्ने गरेको छ । कोही गाउँ त कोही विदेशीतिर हाँकिरहेका छन्।

यहाँ व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएकाहरु व्यापार व्यवसाय ठप्पै भएपछि सटर वा कोठा भाडा तिर्न नसकेर गाउँ वा विदेशतिर लागेका छन्। उपत्यका छोड्नेहरुको संख्या दिनप्रति दिन बढ्दो छ। यहाँका सटर, कोठा र फ्ल्याटहरु धमाधम खाली भइरहेका छन्। जसले घरधनीहरुलाई समेत तनाव दिएको छ । केही वर्षअघिसम्म उपत्यकामा सटर पाउन महाभारत हुन्थ्यो । घरधनीले मागेजति भाडा तिर्छुभन्दा समेत सटर पाइँदैन्थ्यो।

अहिले त घरधनीहरुले भाडा घटाइदिन्छुभन्दा समेत व्यापारीहरु भटाभट सटर छोडिरहेका छन् । उपत्यका घरधनीहरुले सोझासाझा जनतालाई ठग्नु ठगेका छन्। एउटा सानो अध्याँरो कोठाको मासिक भाडा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म असुले । एउटै सटरको भाडा २० हजारदेखि १९ लाख रुपैयाँसम्म असुले। ठाउँअनुसार फ्ल्याटको भाडा ३० हजारदेखि तीन लाखसम्म असुले । खाली सटर त २० लाखदेखि ६० लाखसम्ममा किनबेच गरियो।

घरधनीहरुले मनलाग्दी भाडा असुलिरहे । डेराबहालको आम्दानी छ कि छैन ? उसको अवस्था के कस्तो छ ? भनेर केही सोचेनन् । उल्टै महिनाअघि भाडा माग्ने अनि नदिएमा तुरुन्तै सरेर जानू भन्ने प्रवृत्ति हाबी भयो । घरधनीको सामु सरकार नै लाचार बन्न पुग्यो भने डेराबहालहरु निरीह भएर अत्याचार सहेर बसिरहे। डेराबहाललाई केही सेवासुविधा नदिने तर बत्ती, पानी, फोहोर, इन्टरनेटको पैसा भने दोब्बर–तेब्बर असुल्ने।

सवारीसाधन राखेको समेत मासिक दुई हजारदेखि दश हजार रुपैयाँसम्म डेराबहालबाट असुलेको पाइन्छ । घरधनीहरुको मानसिकतामा एउटै कुरा रह्यो । त्यो हो, हामीले जहिल्यै यसरी ठगिरहन पाउँछौं । अरुको दुःख, पसिनामा मोजमस्ती गर्ने बानी उनीहरुलाई पर्यो । अहिले उपत्यकासहित बाहिरी जिल्लाहरुमा धमाधम कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् । डेरामा बसिरहेकाले समेत भाडा तिर्न सकेका छन् ।

घर खाली हुन थालेपछि घरधनीहरुको निद्रा र भोक हराएको छ । किनकि त्यहँी भाडाबाट उनीहरुले जीविकोपार्जन गर्दै आएका थिए । अझ सत्य कुरा भन्नुपर्दा अधिकांश घरधनीहरुको आम्दानीको स्रोत नै घर हो।

घर बनाउने, चर्को भाडामा लगाउने। अनि त्यही पैसाले बैंकको किस्तादेखि घर खर्च चलाउने । यो अधिकांश घरधनीहरुको कहानी हो। तर, अहिले काम गरेको ठाउँबाट तलब नपाएपछि वा व्यापार व्यवसाय ठप्प भएर भाडा तिर्न नसकेर मानिसहरु कोठा, सटर र फ्ल्याट छोडेसँगै घरधनीहरुको मुस्किलका दिन पनि शुरु भएका छन्।

अहिले घरधनीहरु डेराबहाल खोज्दै हिँडिरहेको भेटिन्छन् । नजिकका पसल वा चिनजानका मानिसलाई भन्छन्, ‘कोही डेरामा बस्ने छ भने मेरोमा पठाइदिनु ।’ केही समयअघिसम्म मानिसहरुले महिनौं कोठा, सटर र फ्ल्याट खोजेपनि पाउँदैन्थे । दलाली कहाँ पुग्नै पर्दथ्यो । दलाली र घरधनीको मिलेमतोमा चर्को भाडामा कोठा, सटर र फ्ल्याट पाइन्थ्यो।

अब त घरधनी आफैं डेराबहाल खोन्दै हिँड्नुपर्ने अवस्था आइपरेको छ । यसबाट थाहा हुन्छ कि जनता सतर्क हुँदै गएका छन् । बजारमा मन्दी आएकै हो । तर, मन्दीले जनतामा आफूहरु विभिन्न क्षेत्रबाट ठगिँदै वा लुट्दिै आएको कुरा महसुस गरायो र उनीहरुलाई यसविरुद्ध लाग्न सिकायो । नेपाली जनता सोझा छन्। कोही कसैका झुठ कुरा पनि सजिलै पत्याउँछन् । यसैको फाइदा उठाएर व्यापारीदेखि घरधनीहरुले उनीहरुलाई ठग्दै आएका थिए।

अब यो दिनको अन्त्य हुनै लागेको छ । सञ्चारमाध्यमको खबरदारीले जनतामा सचेतना अभिवृद्धि गराएको छ । गलतविरुद्ध आवाज उठाउन हिम्मत दिएको छ भने ठगीबाट जोगिन उनीहरुमा आत्मविश्वास जागेको छ । अहिले कसैका झुठा कुरामाथि सर्वसाधारण विश्वास गर्दैनन् ।

कोहीमाथि विश्वास गर्नुपूर्व दश पटक सोच्छन् र त्यसको पृष्ठभूमि खोज्छन् । व्यापारी र घरधनीहरु सोझासाझा जनतालाई ठग्नु ठगे र कमाउनु कमाए । अब उनीहरुको दिन गएको छ । त्यसैले पनि व्यापार व्यवसाय ठप्प भएको हो भने घरहरु खाली हुने क्रम जारी छ ।

रोचक कुरा चाँहि के छ भने जनता सचेत भइरहँदा देशको प्रधानमन्त्री, मन्त्रीहरु अझै पनि ठगिरहेका छन् । अहिले प्रधानमन्त्री, मन्त्रीहरु सिंहदरबारभित्र बस्छन्। तर, सिंहदरबार कम्पाउण्ड बाहिरका सबै जग्गा सरकारी जग्गा हो । हनुमानस्थान, कालिस्थान, घट्टेकुलो, बिजुलीबजार र सिडियो कार्यालय आसपासका जग्गा सरकारी जग्गा हो । चार दशकअघि सरकारको नाममा रहेको यो जग्गा अहिले व्यक्तिको नाममा गइसकेको छ।

तर, देशका प्रधानमन्त्री र मन्त्रीहरुका सरकारी सम्पत्तिको संरक्षण गर्न सकेका छन्। भूमाफियाहरुले सरकारी सम्पत्तिमाथि धमाधम कब्जा जमाइरहँदा उनीहरु भने सिंहदरबारभित्र गफ हाँक्नमै व्यस्त छन्। अनि देश चलाउने र राष्ट्रको संरक्षण गर्न कुर्सीमा बसेकाहरुलाई नै सरकारी सम्पत्तिको महत्त्व नभएपछि कसैको केही लाग्छ। यस्तो अवस्थामा व्यापारीहरुले पनि सर्वसाधारण ठग्नु कुनै नौलो होइन ।