हत्या अभियोगमा कांग्रेस नेता पक्राउ
काठमाडौं। कञ्चनपुरका हर्कबहादुर खडायतको हत्या प्रकरणमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा फरार रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरा काठमाडौंबाट पक्राउ परेका हुन्।
बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै खडायतको हत्या गरेको आरोप छ।
बोहरासहितको समूहले २८ कात्तिक ०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए।
तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो। तर, खडायतको उपचारका क्रममा १० पुस ०८० मा मृत्यु भएको थियो। बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
