नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान)ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो। यही फागुन २४ गतेदेखि हुने उक्त शृङ्खलामा नेपालसहित युगाण्डा, हङ्कङ र नामिबिया सहभागी छन्।

क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए। नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताए।

त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए। नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ।

त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङ्कङसँग खेल्नेछ। त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङ्कङसँग खेल्नेछ। यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन्।