माओवादीको जागरण अभियानको कार्यतालिका हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी अभियान’ को समय तालिका हेरफेर भएको छ।पार्टीका जनसंगठनकै भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ।
नयाँ कार्यक्रम तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ।
यस्तै बागमती प्रदेशअन्तर्गत चितवनमा २७ गते कार्यक्रम आयोजना गरिएको छ । यसबीचमै २८ गते अध्यक्ष प्रचण्डसहितका बुटवलमा मगर मोर्चाको उद्घाटनमा सहभागी हुनेछन् ।
चैत २ गते नवलपुर (नवलपरासी पूर्व), ३ गते परासी (नवलपरासी पश्चिम) मा कार्यक्रम हुने माओवादीले मातहतका पार्टी संगठनलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
चैत ४ गते रुपन्देही, ५ गते कपिलवस्तु, ६ गते दाङ, ७ गते बाँके र ८ गते बर्दियामा कार्यक्रम राखिएको छ । यसबीचमै ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभामा नेताहरु सहभागी हुनेछन् ।
सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ ।
