पर्यटनमन्त्री पाण्डे जर्मनीमा ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्डबाट सम्मानित

काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम मिनिस्टर अफ द एयर)अवार्ड पाएका छन्। जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेसनल टुरिजम बोर्सी (आइटिबी) बर्लिन २०२५ मा सहभागी हुन गएका मन्त्री पाण्डे अवार्डबाट सम्मानित भएका हुन। 

पर्यटनसँग सम्बद्ध विश्वका करिब पाँच हजारभन्दा बढी स्टलहरू र सयौंको संख्यामा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको वर्ल्ड टुरिजम एण्ड एभिएसिन समिट–२०२५ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट टुरिजम मिनिस्टर अफ द एयरु अवार्ड प्रदान गरिएको हो।

यस्तो किसिमको पुरस्कार पाउनेमा मन्त्री पाण्डे नेपालको पहिलो पर्यटनमन्त्री हुन्।सो कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा)ले आयोजना गरेको हो।

मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको सुधारमा छोटो समयमा गरेको नीतिगत सुधार, सरकारको कार्यसम्पादन उत्कृष्ट अंक हासिल गरेको तथा पर्यटन ऐन तर्जुमा लगायतका नीतिगत सुधारका उल्लेखनीय काम गरेबापत सो पुरस्कार प्रदान गरिएको हो।

सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ।

नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरुको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरुले प्रतिक्रिया दिएका छन्।

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए।

नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायलाई गरिएको सम्मान हो, उनले भने,पर्यटन सधैं नवप्रवर्धन,सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ।

यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ। मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताए। 

यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट-२०२५ मा सहभागिता जनाएका थिए। ‘लगानी वृद्धि, शान्ति सुनिश्चितताः विकासको उपयोग, भविष्य निमार्ण’ विषयक उक्त सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गरेका थिए।