डडेल्धुरा पुगेर गृहमन्त्रीले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

काठमाडौं। गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन्।

गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरे।

अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे।

उनले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए।

उनले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन ईकाइ उद्घाटन गरिने जानकारी दिए।

गृहमन्त्रीले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए।

मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिए।