फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार
काठमाडौं। फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार भएको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल एक सय तीनौं स्थानमा थियो।
एशियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली (साफ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ। विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एशियामा शीर्षमा छ। एक स्थान सुधार गरेको भुटान एक सय ७१औं स्थानमा छ।
विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन। अमेरिका शीर्ष स्थानमा यथावत छ। स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ।
तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ। स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ। उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा छ।
