अनेक काम छाडेर सरकारले कुलमानलाई किचकिच गर्नु गलत: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको आरोप लगाएका छन्।

शनिबार सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले कुलमानलाई किचकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए।

५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ। कि राम्रो गर्नुस्, राम्रो नसके कम्तीमा नरोम्रो काम नगर्नुस्’, उनले भने। तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ।

उनले अघि भने,ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरण छ। त्यसका प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण हामी सुनिरहेका छौं। मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि बेढंग हो।

ती व्यक्ति ३,४ महिनापछि सेवा निवृत्त हुँदैछन्। सेवा निवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने। तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ। किचकिच किचकिच गरिरहेको देखिन्छ। यस्तो ठीक हुँदैन। उपयुक्त हुँदैन।