ट्राफिक प्रहरीको चेकिङमा कडाइ, नियम तोडे दिनभर होल्ड गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि प्रहरीले ट्राफिक चेकजाँच तीव्र पारेको छ । होलीमा सवारी नियम उलंघन हुने गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँच बढाएको हो। आजको दिन नियम उल्लंघन गरेको पाइए दिनभर सवारीसाधन होल्ड गरिने प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले मादक पदर्थ सेवनकर्ता भन्दा लागु औषध सेवनकर्ताबाट हुने दुर्घटनालाई बढी मध्यनजर गर्दै चेकजाँच गरिने बताए।

त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) उनले बताए।

ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ।

आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा होलीका कार्यक्रम हुँदैछन्। तिनै कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।