कालीकोटमा एक किशोरको हत्या, पाँचजना पक्राउ
कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।
दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका थिए । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो।
सदरमुकाम मान्मबाट ३५ किमि टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
