शैक्षिक प्रणाली र आमूल परिवर्तन

बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो। शिक्षाको बास्तबिक अर्थ भनेको ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धतिको रूपमा बुझ्नुपर्छ। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ।

मानवले आफ्नो लक्ष्य र उधेश्य प्राप्त गर्नको लागि शिक्षाको निकै महत्त्वपूर्ण भुमिका हुन्छ। शिक्षा भनेको सामान्य भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ।शिक्षा संस्कृत भाषाको शिक्षा धातूबाट उधृत भएको हो। जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ। शिक्षा आदान प्रदान गर्ने प्रक्रिया प्राचीनकालदेखि नै चलिदै आएको छ।

“विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो” भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ। मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको ब्यापक अर्थ हुन्छ।

मुलतः शिक्षा धेरै किसिमको हुन्छ- जस्तैः साधारण शिक्षा,विशिष्ट शिक्षा,प्रत्यक्ष शिक्षा,अप्रत्यक्ष शिक्षा,ब्यक्तिगत शिक्षा र सामुहिक शिक्षाको रुपमा वर्गीकरण गरिएपनि मुख्यतया शिक्षा एक, आदर्शवादी। दुई, वैज्ञानिक। हाल नेपालको शिक्षा प्रणाली मुलतः बेरोजगार र बुर्जुवा र अयोग्य शक्ति उत्पादन गर्ने भट्टी बनेको छ।

नेपालको शिक्षा प्रणाली लाखौंलाख विद्यार्थीहरु उत्पादन गर्ने र जब यो देशको लागि सक्षम सशक्त नागरिक बन्छन तव यो दलाल संसदीय व्यवस्थाले उनिहरुलाई खाडी मुलुकमा लगेर बेच्न थाल्छ।

आम युवा विद्यार्थीहरुले यो देशमा सुनौलो भविष्य कोर्नको साटो उनीहरुको बाध्यतात्मक परिस्थितिले उनीहरुको जिवन अकर्मण्यतामा फसेको छ ,किनकि यस्ता मौलिक अधिकार माथी हनन पुर्याउने यो दलाल संसदीय व्यवस्था नै प्रमुख तत्व बनेको छ।

आजको शिक्षा प्रणाली विद्यार्थीहरुलाई नयाँ ज्ञान,सूचना,बिज्ञान र प्रविधि ज्ञानको जानकारी हुनआवश्यक छ। बिश्वमा भैरहेको ज्ञानको बिस्फोट, नयाँ खोज,तथ्य,तर्क,आविष्कारको ज्ञान दिलाउनु पर्छ।

अवको शिक्षा प्रणाली बैज्ञानिक शिक्षा प्रणाली , उत्पादन संग जोडिएको शिक्षा प्रणाली, जीवनौपयोगी श्रम सीप, गणित, अर्थशास्त्र मानवशास्त्र ,नैतिक शिक्षा, कम्प्युटर बिज्ञान, बित्तशास्त्र र भाषिक सीप र सूचनाहरुको शिक्षा प्रणाली विद्यार्थीहरुलाई आवश्यक छ । शिक्षण कला र बिज्ञान दुबै हो।

शिक्षण पद्धति बैज्ञानिक हुनुपर्छ र सिकाइ कलात्मक। अब हिजोको बिधिले आजको शिक्षण सिकाई चल्दैन् । सूचना र प्रविधिको बिकास चरम छ । यसरी ज्ञान बिस्फोट अवस्थामा छ।

त्यसैले सिकाइमा विधि र प्रविधिको प्रयोगको परिमार्जन गर्नुपर्छ। पाठ्यक्रम र पाठ्यपुस्तक, सिकाइ प्रक्रियाको निर्धारणमा विद्यार्थी, शिक्षक, बिज्ञ र अभिभावकको प्रत्यक्ष संलग्नताको सुनिश्चितता हुनुपर्छ।

वार्षिक रूपमा पाठ्यक्रम परिवर्तन र परिमार्जन गर्ने कार्य बन्द गर्नुपर्छ। किनकि विद्यार्थीहरुलाई आर्थिक भार पर्छ।बिद्यालयका भौतिक, शैक्षिक, आर्थिक र वातावणिय प्रक्रियाहरु विद्यार्थी केन्द्रित, दीर्घकालीन सोच र उपयोगमा आधारित भएर तय गर्नुपर्छ।

उत्पादित शैक्षिक जनशक्ति गरिखान सक्ने, दक्ष र असली बिज्ञ हुनुपर्छ। देशमै ठूलो सम्मान र इज्जत मिल्नु पर्छ। देशले विविध क्षेत्रमा क्षमता अनुसारको काम दिनुपर्छ। शिक्षाको नतिजाको उपयोगले देशलाई आत्मनिर्भरता तिर लैजानु पर्छ।

शिक्षाले नै देशको शान्ति, बिकास र समृद्धिको बाटो तय गर्ने हो । नयाँ शिक्षा प्रणालीमा उचित आर्थिक लगानी,बैज्ञानिक र प्रभावकारी प्रक्रियाको निर्धारण र गुणस्तरीय उत्पादन गर्ने हो भने हाम्रो आत्मनिर्भरको बाटो तय हुन्छ।

हामी अहिले आफू केही नगर्ने अरुले केही गरेन भन्ने गलत प्रवृत्ति हावी हुँदै गइरहेको अवस्थामा छौं । आलोचना र गफ त्यागेर कामतर्फ उद्द्त हुनुपर्छ। स्व अध्ययन, स्व मूल्याकंन र आत्मनिर्भरताको बाटो खन्न हाम्रो शिक्षा प्रणाली लाग्नुपर्छ।

नेपालमा एउटा मुलुक दुईवटा शिक्षा प्रणाली रहेका छन। पहिलो : सामुदायिक शिक्षा प्रणाली र दोस्रो : निजि शिक्षा प्रणाली छन्। सामुदायिक शिक्षा प्रणाली : सामुदायिक शिक्षा प्रणाली भन्नाले सरकारको पुर्ण स्वामित्व भएको अर्थात सरकारि विद्यालय भन्ने बुझ्न् सक्छौं।

निजि शिक्षा प्रणाली : निजि शिक्षा प्रणाली भन्नाले सरकारले कुनै पनि सहयोग नरहेको अर्थात संस्थागत विद्यालय / प्राइभेट संस्था भन्ने बुझिन्छ। एकापट्टि मुनाफासहित सबै साधन र स्रोत प्रयोग गरेर धनीका छोराछोरीले पढिरहेको निजी शिक्षा छ भने अर्कातिर राज्यले प्रदान गरेको सर्वसाधारणका छोराछोरी पढ्ने गरेको सरकारी शिक्षा छ । यस्तो दुई प्रकारको शिक्षा प्रणाली रहेसम्म प्रणालीगत समस्या समाधानको कल्पनै नगरे हुन्छ ।

अझै विडम्बनाको विषय त के छ भने एउटै छानोमुनि दुई प्रकारका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । जसले गरिब जनताका छोराछोरीको चर्को शुल्कले ढाड मात्र सेकेको छैन, विद्यार्थीमा गहिरो मनोवैज्ञानिक असरसमेत पारेको छ। २१ औं शताब्दी सम्म आईपुग्दा पनि नेपाली आम जनताका छोराछोरीले शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशुल्क नपाई रहेको अवस्था छ।

आज शैक्षिक संस्थाहरू शैक्षिक संस्थाजस्ता नभएर व्यापारीका ठगीधन्दा चलाउने सटरजस्ता बनेका छन् । जसले गर्दा आज वर्गीय असमानताको ठूलो खाडल सिर्जना भएको छ ।

यो जटिल अवस्थामा सिपमूलक शिक्षा, उत्पादन मूलक शिक्षा प्रणाली नपाएर आम युवा विद्यार्थीहरु बेरोजगार भएर सडकको गल्लि गल्लिमा भौतारि रहेका छन् भने नेपाली आम जनता स्वास्थ्य उपचार नपाएर तडपियर मर्नु भन्दा अन्य विकल्प छैन । देशको आर्थिक , राजनीतिक अवस्था हेर्दा देश जटिल अवस्था वाट ग्रुजि रहेको छ।

नेपालको संविधानको भाग ३ धारा ३१ को २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनिएता पनि मुलतः व्यावहारमा र कार्यन्वयनमा भने शुन्यता रहेको छ । त्यसकारण नेपालको शिक्षा प्रणाली पुजिपतिहरुको लागि व्यापारी थलो बनेको देखिन्छ यो नै यथार्थ हो।

नेपाली जगत मा अहिले पनि बैज्ञानिक शिक्षा, उत्पादन संग जोडिएको शिक्षा , कार्यमुलक शिक्षा प्रणाली नभएकोले आम युवा विद्यार्थीले यो बाध्यत्मक पिडा भोग्नु परेको छ।

विद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रित नेपाली विद्यार्थी आन्दोलन पछिल्लो दशकदेखि यता भौतिक र नैतिक दुवै कोणबाट स्खलित हुँदैआएको छ।

एकातिर शिक्षामा चर्को निजीकरण र व्यापारीकरण भित्रिनु र कथित गुणस्तरको नाममा यसले लोभ देखाउन सफल हुनु र अर्कोतिर सार्वजनिक विद्यालय र त्रिभुवन विश्वविद्यालयमा ह्वात्तै विद्यार्थी संख्या घट्नु अनि विद्यार्थी संगठनहरूले सिर्जनात्मक कार्यमार्फत् लोकप्रीयता हासिल गर्न नसक्नु वा जरुरी नठान्नु यसका मुख्य कारण हुन्।

फलस्वरूप, आजभोलि विद्यार्थी आन्दोलनलाई आँखा मिच्दै खोजेर हेर्नुपर्ने अवस्था छ। जहाँ विद्यार्थी छन् त्यहाँ विद्यार्थी आन्दोलन छैन । यसैले विद्यार्थी संगठनको आलोचना भएको हो। जहाँ विद्यार्थी आन्दोलन छ त्यहाँ विद्यार्थी छैनन्। यसकारण पनि विद्यार्थी संगठनप्रतिको आलोचना सघन हुँदै गएको हो।

वर्तमान समयमा दलाल पुँजीवादी संसदीय पार्टीहरु उनीहरुको विद्यार्थी संगठन यथास्थिति, प्रतिगमन र प्रतिक्रान्तिको गलत मार्गमा लिक्त भएपछि नेपाली समाजमा रहेका विद्यमान विकृति विसंगति, जनताको जनतन्त्र र जनजिविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदम, नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण,व्यपारिकरण,माफियाकरण,दलालीकरण,भ्रष्टीकरण,जनताको मौलिक हकका विरुद्ध हुने सवै खाले प्रतिक्रियावादिहरुका विरुद्ध प्रतिपक्ष र सडकवाद को भुमिकामा रही नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक,सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर नेतृत्वदायि भुमिका निर्वाह गर्नुपर्ने युगिन अभिभारा क्रान्तिकारी विद्यार्थी संगठन नेपाल लाई आएको छ।

हाम्रो संगठनले विगत वा इतिहासका भौतिकवादी अनुभवलाई आत्मसात गर्दै वर्तमान विद्यार्थी आन्दोलनलाई पुनर्गठित गर्न व्यापक अभियान सुरु गरेको छ।

यो अभियान केवल संस्थागत विकासको काम मात्र नभई सम्पूर्ण नेपाली समाजको शोषण, दमन, र अन्यायको विरुद्ध प्रगतिशील विचारको मूलप्रवाह निर्माण गर्ने अथक प्रयासको घनिभूत अभिव्यक्ति हो । यसरी आन्दोलन मात्र सबैथोक होइन, अपितु महान उद्देश्य हासिल गर्ने कुरा प्रधान हो।

यसका लागि संगठनलाई सैद्धान्तिक, सामाजिक, आर्थिक र व्यवहारिक पक्षमा सशक्त बनाउनु अपरिहार्य छ । कार्यदिशा अनुरुपको संगठन र कार्ययोजना निर्माण, त्यसको प्रभावकारी कार्यान्वयनले कार्यदिशालाई कार्यान्वयन गर्न सम्भव हुन्छ।

यसरी क्रान्तिकारी संगठनहरुले राष्ट्रिय मुक्ति क्रान्तिको लागि संघर्ष गर्ने रणनीतिक उदेश्यलाई केन्द्रमा राखेर बर्तमान शिक्षामा आमुल परिवर्तन गर्ने र क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउने दिर्घकालिन तथा तत्कालीन लक्ष्यहरु निर्धारण गर्दै आगामी कार्ययोजना ठोस गर्न आवश्यक छ।

तपेन्द्र न्यौपाने संयोजक (क्रान्तिकारी विद्यार्थी संगठन नेपाल)