भारत र पाकिस्तानमा को कति शक्तिशाली,सैन्य शक्ति कसको बढी ?

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । पहलगाम हमलाको १५ दिनपछि भारतले गएराति पाकिस्तानमा एयर स्ट्राइक गरेसँगै यी दुई आणविक शक्ति सम्पन्न मुलुक युद्धको नजिक उभिएका छन्।

यसअघि भारतले दुई देशबीचको सिन्धु जलसन्धि निलम्बन गर्ने, सीमा क्रसिङ बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेलगायतका धेरै निर्णयहरू गरिसकेको छ।

जवाफमा पाकिस्तानले सन् १९६० को सिमला सम्झौताबाट बाहिरिने घोषणा गरेको छ र नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कारबाही’ मानिने र त्यसको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ।

दुवै देशका राजनीतिक नेतृत्वबाट एक–अर्कालाई कडा चेतावनी र कठोर जवाफी कारबाही गर्ने अभिव्यक्तिहरु आइरहेका छन्। ग्लोबल फायर पावरका अनुसार, २०२५ को सैन्य शक्ति ¥याङ्किङमा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ।

विश्वव्यापी सैन्य शक्तिको हिसाबले १४५ देशहरूमा भारतको ¥याङ्किङ चौथो छ भने पाकिस्तानको ¥याङ्किङ १२औँ स्थानमा रहेको ग्लोबल फायर पावरलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

भारतीय सेनासँग करिब २२ लाख सैनिक, ४ हजार २०१ ट्यांक, करिब डेढ लाख बख्तरबन्द वाहन, १०० सेल्फ–प्रोपेल्ड आर्टिलरी र ३,९७५ तान्ने आर्टिलरी छन्। यसबाहेक मल्टि–ब्यारेल रकेट आर्टिलरीको संख्या २६४ छ।

भारतीय वायुसेनासँग ३ लाख १० हजार वायुसैनिक र जम्मा २,२२९ विमान छन्, जसमा ५१३ लडाकु विमान र २७० यातायात विमान छन् । कुल विमानहरूमा १३० आक्रमणकारी, ३५१ प्रशिक्षक र ६ ट्यांकर फ्लिट विमान छन् ।

भारतीय सेनाका तीनवटै अङ्गसँग जम्मा ८९९ हेलिकप्टर छन्, जसमा ८० आक्रमण हेलिकप्टर छन्। भारतीय नौसेनासँग १.४२ लाख नौसैनिक, जम्मा २९३ जहाज छन्,जसमा २ विमानवाहक जहाज, १३ डिस्ट्रोयर, १४ फ्रिगेट, १८ पनडुब्बी, र १८ कोर्वेट युद्धपोत छन्।

लजिस्टिक्सको रूपमा भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह, ६३ लाख किलोमिटर सडक, र ६५ हजार किलोमिटर रेलवे कभरेज छ । त्यस्तै पाकिस्तानी सेनासँग करिब १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसैनिक छन् ।

पाकिस्तानसँग जम्मा १,३९९ विमान छन्, जसमा ३२८ लडाकु विमान, ९० आक्रमणकारी, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्यांकर फ्लिट, र ३७३ हेलिकप्टर छन्, जसमा ५७ आक्रमण हेलिकप्टर छन् । यसमा २,६२७ ट्यांक, १७५ वाहन, ६६२ सेल्फ–प्रोपेल्ड आर्टिलरी, २,६२९ तान्ने आर्टिलरी, र ६०० मल्टि–ब्यारेल रकेट आर्टिलरी छन् ।

पाकिस्तानी नौसेनासँग जम्मा १२१ युद्धपोत छन्, जसमा ९ फ्रिगेट, ९ कोर्वेट, ८ पनडुब्बी, र ६९ गस्ती जहाज छन्। लजिस्टिक्सको रूपमा यससँग केवल ३ बन्दरगाह, ११६ विमानस्थल, ६० मर्चेन्ट मरिन फ्लिट छन्।

यसबाहेक, २.६४ लाख किलोमिटर सडक र ११.९ किलोमिटर रेलवे कभरेज छ। स्वीडेनको थिङ्क ट्यांक स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट को २०२४ को प्रतिवेदन अनुसार, भारतसँग १७२ र पाकिस्तानसँग १७० आणविक हतियार छन्।

द्यपि, दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने स्पष्ट छैन। ग्लोबल फायर पावरका अनुसार, पाकिस्तान भारतको सामना गर्न आणविक हतियार तयार गरिरहेको छ भने भारतको ध्यान लामो दूरीमा प्रहार गर्न सक्ने हतियारहरूको तैनातीमा केन्द्रित छ।

रक्षा मामिलाका विश्लेषक राहुल बेदीका अनुसार, भारतसँग आगामी दुईदेखि चार वर्षमा करिब ५,००० ड्रोनहरू हुनेछन्। उनका अनुसार, यद्यपि पाकिस्तानसँग ‘भारतभन्दा कम ड्रोनहरू’ छन्, तर पनि पाकिस्तानसँग रहेका ड्रोनहरूमा विभिन्न क्षमताहरू छन् र ती १० देखि ११ फरक डिजाइनका छन्।

गत वर्ष अक्टुबरमा भारतले अमेरिकाबाट ३.५ अर्ब डलर मूल्यका ३१ प्रिडेटर ड्रोनहरू खरिद गर्ने सम्झौता गरेको थियो। प्रिडेटर ड्रोनहरू विश्वका सबैभन्दा सफल र खतरनाक ड्रोनहरू मानिन्छन्। तीसँगै ५० करोड डलर मूल्यका ती ड्रोनहरूमार्फत लक्ष्यलाई नष्ट गर्न प्रयोग हुने बम र लेजर गाइडेड मिसाइलहरू पनि खरिद गरिनेछ।

राहुल बेदीका अनुसार, पाकिस्तानले टर्की र चीनबाट ड्रोनहरू आयात गर्छ। यद्यपि, उसले जर्मनी र इटालीबाट पनि ड्रोनहरू खरिद गरेको छ। पाकिस्तानले बुर्राक र शहपर जस्ता ड्रोनहरू आफैँले पनि बनाएको छ।

पाकिस्तानसँग टर्कीका आधुनिक ‘बाय्राक्तर’ ड्रोनहरू टीबी टु र एकेँजी छन् भने उसले चीनबाट ‘वाङ लङ टु’ र ‘सीएच ४’ जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ।