सुनसरी–सिराहा घटनामा मृतकका परिवारलाई राहत,घाइतेको उपचार सरकारले गर्ने
काठमाडौं। सरकारले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै, घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यवस्था पनि सरकारले गर्ने भएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचार सुनिश्चित गर्ने जानकारी दिएका हुन्।
गत साउन १० गते सुनसरीमा सुरु भएको प्रदर्शनका क्रममा सुनसरीमा तीन जना र सिराहामा एक जनाको ज्यान गएको थियो। घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए।
सरकारले घटनाबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्ने निर्णयसँगै पीडितलाई तत्काल सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
