सरकारको स्वेच्छाचारी गतिविधि रोक्न एमाले सडकमा आउन तयार छ: शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार गलत दिशातर्फ अगाडी बढिरहेको आरोप लगाएका छन्। बुधबार दाङमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले सरकार स्वेच्छाचारी बन्दै गए एमाले आन्दोलनमा उत्रने चेतावनी दिए।

सरकारलाई लोकतान्त्रिक मर्यादाभित्र राख्न प्रतिपक्षी दलहरू एकजुट हुनुपर्ने बताउँदै उनले भने,‘सरकारले काम गर्न थालेको चार महिनामै विकल्प खोज्नुपर्ने अवस्था आएको छैन। तर स्वेच्छाचारी गतिविधि रोक्न जनता फेरि सडकमा आउनुपर्ने स्थिति बन्न सक्छ।

उनले मुलुकको रक्षा र जनताको हितका लागि आवश्यक परे एमालेका कार्यकर्ता जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहेको बताए।

पोखरेलले भदौ २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी बनाइएकोमा सुनसरी घटनामा पनि प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताए।

पोखरेलले विगतमा तत्कालीन नेतृत्वमाथि सुरक्षा निकायले गरेको बल प्रयोगको जिम्मेवारी तोकिएको हो भने अहिलेको सरकारले पनि आफ्नो कार्यकालमा भएको बल प्रयोगबाट उत्पन्न क्षतिको जिम्मेवारीबाट उन्मुक्ति नपाउन बताए।

यस्तै, उनले प्रधानमन्त्री र गृहमन्त्रीले विगतको आरोपबारे ‘नबुझीकन गर्‍यौँ’ भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए। ‘प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा जे गर्‍यौँ, नबुझीकन गर्‍यौँ भनेर माफी माग्नुपर्‍यो। त्यसो नभए राजीनामा दिनुपर्यो,उनले भने।

यस्तै, उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दा पक्राउ गरिएकोमा प्रश्न उठाउँदै यसमा कानुनको प्रयोग गर्न नमिल्ने बताए।