स्रोत नखुलेको ७१ लाख नगद र लागुऔषधसहित ५ जना पक्राउ
जनकपुरधाम। सिरहामा लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँचजना पक्राउ परेका छन्। लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन्। दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
शुक्रबार साँझ ७ बजेको को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२।९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद भएको थियो।
त्यसक्रममा केरकार गरेर उनीहरुको घरमा खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको पत्रकार सम्मेलनमा डिएसपी पासवानले जानकारी दिए।
यस्तै, उनीहरुको साथबाट एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामदसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुवैजना लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ गरेको छ। हुण्डीकारोबारी रहेको सूचनाको आधारमा शनिबार दिउँसो सिरहा–२ स्थित महावीर चोकबाट उनलाई चेकजाँच गर्दा रकमसहित पक्राउ गरेको डिएसपी पासवानले बताए।
यस्तै, सिरहाबाटै औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
