पाँच संसदीय समितिका बैठक बस्दै

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका पाँचवटा समितिका बैठक बुधबार बस्दैछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक अहिले केहीबेरमा सिंहदरबारमा शुरु हुँदैछ। बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदन समिति समक्ष पेश गर्ने कार्यसूची छ।

यस्तै पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्ने तय भएको छ । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुँदैछ। अर्थ समितिमा भने बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलले निनरन्तरता पाउने भएको छ। प्रतिवेदन समितिको अघिल्लो बैठकमा प्रस्तुत गरिएको थियो।

प्रतिवेदनमाथि छलफल हुँदै गर्दा शिक्षकहरुले भने आफूहरूसँग गरिएको सहमति अनुरुपको नआएको भन्दै माग सम्बोधन हुने अवस्था नआए फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन्। बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ।

सार्वजनिक लेखा समितिको पनि आज बैठक बस्दैछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची तय गरिएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।