उद्धार र राहतलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको अपिल
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नागरिक तहबाट राख्नुपर्ने उच्च सतर्कताका लागि अपिल गरेको छ।
‘तीन प्रहरी र १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ। नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ।
यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। कांग्रेसको अपिलमा भनिएको छ।
वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै कांग्रेसले ऐक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनासाथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ।
