शेरबहादुर देउवाको दावी: सिद्धान्त बुझाउन सके कांग्रेसले बहुमत ल्याउँछ

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सिद्धान्तहरूलाई जनतासामु राम्रोसँग प्रस्तुत गर्न सके आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने दाबी गरेका छन्। सोमबार राजधानीको सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति देउवाले नेपाली कांग्रेसका सिद्धान्तहरू अन्य प्रतिस्पर्धी राजनीतिक दलहरूको तुलनामा उत्कृष्ट रहेको दाबी गर्दै भने,हाम्रा सिद्धान्तहरू राम्रा छन्। यदि यी सिद्धान्तहरूलाई जनतासामु ठीकसँग प्रस्तुत गर्न सक्यौं भने हामी बहुमत प्राप्त गर्न सक्छौं। उनले कांग्रेसको प्रजातान्त्रिक समाजवादको सिद्धान्त अन्य दलहरूको भन्दा भिन्न र विशिष्ट रहेको जिकिर गरे।

नेपालकै सबैभन्दा पुरानो राजनीतिक पार्टीको हैसियतमा कांग्रेसले लामो समयदेखि प्रजातन्त्रको पक्षमा संघर्ष गरेको स्मरण गराउँदै देउवाले भने, हाम्रो प्रजातान्त्रिक समाजवाद अरू दलको भन्दा फरक छ। यसले जनताका आकांक्षालाई सम्बोधन गर्छ।

सभापति देउवाले वर्तमान संविधान र निर्वाचन प्रक्रिया समावेशी सिद्धान्तका आधारमा निर्माण भएको उल्लेख गर्दै यसले सबै नागरिकहरूलाई समान अवसर प्रदान गरेको बताए। हाम्रो संविधानले सबै नागरिकलाई समावेश गर्ने गरी बनाइएको छ। निर्वाचन प्रक्रिया पनि समावेशी छ। यसैले हामीले सबैको समर्थन प्राप्त गर्न सक्छौं, उनले भने।

कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका बौद्धिक सम्पदा र अध्ययन कार्यमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मान गरिएको थियो।